काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको शेयर कारोबार पुस २६ गतेदेखि माघ १० गते सम्म १५ दिन बन्द हुने भएको छ । त्यसअघि पुस २२ गते शुक्रवार राति १० बजेदेखि २६ मंगलवार बिहान ९:४५ बजेसम्म सम्पूर्ण बैंकिङ सेवाहरू बन्द हुने छन् ।
मर्जर प्रक्रिया पूरा गरी यी दुई बैंकले पुस २६ गतेदेखि एकीकृत कारोबार शुरू गर्दै छन् । नेपाल धितोपत्र बोर्डबाट जारी धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को निर्देशन बमोजिम लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लगि दुवै कम्पनीको एकीकृत वित्तीय कारोबार शुरू हुने मिति पुस २६ गतेदेखि १५ दिनको लागि शेयर कारोबार रोक्का गर्ने कम्पनीले निर्णय गरेको छ ।
यसअघि मर्जर तथा प्राप्ति सम्झौता गरेसँगै कारोबार रोक्का हुँदै आएकोमा पछिल्लो समय बोर्डले एकीकृत कारोबारपछि मात्र बढीमा १५ दिन कारोबार रोक्का राख्ने व्यवस्था गरेको छ ।