चैत ८, पर्वत (अस) । कुश्मा नगरपलिकाको ठूला पूर्वाधारअन्तर्गत यस वर्ष तीनओटा सडक कालोपत्र हुने भएका छन् । नगरका ठूला पूर्वाधारअन्तर्गत साइकल चोक–गहतेपोखरा ६ सय मिटर, कुश्मा बडागाउँको मस्जिददेखि ज्ञादी जाने पुल र पुलदेखि साइकलचोक जोड्ने सडकखण्ड यो वर्ष कालोपत्र गरिने भएको हो ।
त्यस्तै, सशस्त्र प्रहरी बल चण्डिका गणदेखि मोदीवेनीधाम पुग्ने सडक पनि यसै वर्ष कालोपत्र हुनेछ । कार्यालयले अन्य वडा भेलाबाट र नगर परिषद्बाट छनोट भएका सडकहरूको पनि स्तरवृद्धि गर्ने जानकारी दिएको छ । कार्यक्रमअन्तर्गत कुश्मा बजारका सडक व्यवस्थापन र कुश्मा–दुर्लुङलगायत सडकको समेत स्तर वृद्धिका माग आएकोमा बजेटअनुरूप सम्बोधन हुने कार्यालयले बताएको छ ।
कार्यालयका अनुसार ८ मी. चौडाइ कायम गरी बनाउन लागिएका सडकको काम सुचारु हुन लागेको छ । कार्यालयका कार्यकारी अधिकृत कुमानसिंह गुरुङले स्थानीय उपभोक्ताको ३० प्रतिशत र नगरपालिकाको ७० प्रतिशत लगानीमा सडकहरू कालोपत्र गर्न लागिएको बताए । गत आर्थिक वर्षमा करीब २ किमी सडक कालोपत्र गरिएको र आगामी वर्ष अन्य वडामा पुग्ने मुख्य सडक कालोपत्र गर्ने योजना रहेको उनले बताए ।