काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले चैत २९ गतेदेखि वैशाख ९ गतेसम्म ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद शेयर विक्री गरेको थियो ।
तोकिएको अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र वैशाख १३ गते खोली वैशाख १७ गते कम्पनीको सञ्चालक समितिको बैठकले बाँडफाँट गरेको हो । बाँडफाँटको अन्तिम मूल्य १४८ रूपैयाँ १० पैसा रहेको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षित भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ ।
उक्त बाँडफाँटमा नपरेको शेयरबापत्काे रकम वैशाख २० गतेदेखि फिर्ता भुक्तानी गरिने जानकारी कम्पनीले दिएको छ । आवेदकले आवेदनमा उल्लेख गरेको बैंक खातामा रकम फिर्ता भुक्तानी गरिने भएको हो । कम्पनीले फागुन १८ देखि चैत ८ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको शेयर लिलामी प्रक्रियाबाट विक्री गरेको हो । कम्पनीले १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँको आधारमा ५० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो ।
सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ कायम हुनेछ । यस कम्पनीको संस्थापकतर्फको शेयर २०७३ चैत १८ गतेदेखि सर्वसाधारण शेयरसरह कारोबारयोग्य भएको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।