काठमाडौं । पानी ट्यांकी, सिपिभिसी जस्ता प्लास्टिक पाइप, ग्यास गिजर, हिटरलगायत प्रडक्ट उत्पादन गर्दै आएको हिलटेक ग्रुपले आतिथ्य सेवामा पनि लगानी विस्तार गरेको छ । भारतको आइटीसी होटेल ग्रुपको सदस्य रहेको फर्च्युन पार्क होटेल लिमिटेडको ‘फर्च्युन’ ब्राण्ड भित्त्याएर ग्रुपले रिसोर्टमा लगानी गरेको छ ।
ग्रुपले भक्तपुरको साँगामा फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पा मंगलवार उद्घाटन गरेर सेवा सञ्चालनमा ल्याएको अध्यक्ष कमल जैनले जानकारी दिए । १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा साँगामा रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए । १५० ओटा कोठा रहने उक्त रिसोर्टमा अहिले ६७ कोठा तयार भएका छन् । बाँकी थप कोठा पनि छिट्टै तयार गरिने उनले बताए । नेपालको पर्यटन क्षेत्रमा काम गरिसकेको र अहिले रिसोर्ट नै सञ्चालनमा ल्याएर आतिथ्य सेवा क्षेत्रमा लागेको उनको भनाइ छ ।
जैनकै लगानीमा साँगामा कैलाशनाथ महादेवको विशाल मूर्ति पनि बनिसकेको छ । त्यही क्षेत्रमा लगानी गरेर रिसोर्ट सञ्चालन गरिएको उनले बताए । सन् १९९२ मा हिलटेक कम्पनी स्थापना गरेका उद्यमी जैनको ग्रुपले साँगामा सन् २०११ मा महादेवको मूर्ति बनाएको थियो ।
साँगामा २५ रोपनी क्षेत्रफलमा बनेको उक्त रिसोर्टको व्यवस्थापन समेत भारतको सोही कम्पनीले नै गर्नेछ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मंगलवार रिसोर्टको उद्घाटन गरेका हुन् । रिसोर्टको स्पा नेपालकै राम्रो भएको जैनको दाबी छ । उद्घाटन कार्यक्रममा फर्च्युन होटलका प्रबन्ध निर्देशक समीर एमसीले भारत बाहिर अन्तरराष्ट्रिय यात्रामा पहिलो शाखाको शुरुआत नेपालमा गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए ।
सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यजस्ता विविधताले उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकहरूको पहिलो रोजाइमा नेपाल पर्ने उनले बताए । ‘हाम्रो होटेलको सञ्जाल प्रयोग गर्दै फर्च्युन होटेल्सका सुविधा नेपालमा ल्याउनेछौं,’ उनले भने । कार्यक्रममा जैनले शान्त रिसोर्टको अवधारणाले नेपालमा आउने पर्यटकको स्पा अनुभवलाई अझै सुदृढ गरिने बताए । रिसोर्टमा पर्याप्त कोठा, कटेज र आधुनिक सजावटले सजिएका सुइट रहेका छन् ।
रिसोर्टमा स्पा, रिल्याक्सिङ ट्रिटमेन्ट रूम, थेरापी रूम, सौना, स्टिम रूम, जिम, आकर्षक दृश्य देखिने स्विमिङ पुल जस्ता सुविधा रहेको उल्लेख गरिएको छ । तीनओटा ठूला ब्याङ्क्वेट रहेको रिसोर्टलाई वैवाहिक गन्तव्यको रूपमा पनि विकास गरिने जैनले बताए । रिसोर्टमा पार्टी र बैठकका लागि पनि छुट्टै क्षेत्रको व्यवस्था रहेको बताइएको छ ।