काठमाडौं । राइड शेयरिङ सञ्चालन गरिरहेका केही र अन्य कम्पनी मिलेर रूसी प्रविधि कम्पनीको राइड शेयरिङ सेवा नेपालमा विस्तार गर्न लागेका छन् । नेपाली कम्पनीहरू मिलेर रूसी कम्पनी यान्गोको राइड शेयरिङ सेवा नेपालमा विस्तार गर्न लागेका हुन् । उक्त कम्पनीको सेवा भित्र्याउन इ–ड्राइभ नेपाल, दोस्ती राइड सेवा, उपाय, नेपाल फ्लिट, प्लान अन पर्फेक्शन प्रालि, डिप एग्रो टुरिज्म एन्ड हस्पिटालिटी, किम एडभेन्चर प्रालि र इलेभर मार्केटिङ प्रालिले संयुक्त प्रयास गरेका हुन् ।
‘यान्गोको सेवा नेपालमा मंगलवारबाट औपचारिक रूपमा सञ्चालनमा आउने तयारी भएको छ,’ एक पार्टनर कम्पनी किम एडभेन्चरका प्रतिनिधि कमल क्षत्रीले आर्थिक अभियानसँग भने । ‘विभिन्न मुलुकमा सफल देखिएको यो राइड शेयरिङ अहिलेलाई काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने गरी शुरू गर्न लागिएको छ ।’ झन्डै दर्जन हाराहारी राइड शेयरिङ सेवाहरू सञ्चालनमा रहेको नेपाली बजारमा अर्को यस्तै कम्पनी प्रवेश गर्ने भएको हो । नयाँ कम्पनीको प्रवेशले राइड शेयरिङ क्षेत्रमा प्रतिस्पर्धा अझ चर्किने स्थिति बनेको छ ।
यान्गोमा के छ सुविधा ?
- राइड–हेलिङ : सस्तो र सजिलो तरीकाले ट्याक्सी बुक
- डेलिभरी : खाना र किराना सामान डेलिभरी
- कुरियर सेवा : साना प्याकेज ओसारपसार
- अन्य सेवा : यान्गो प्ले (मुभी, संगीत र गेमहरू), यान्गो म्याप्स (नेभिगेशन र ट्राफिक जानकारी) र एआईमा आधारित भ्वाइस असिस्टेन्टजस्ता सुविधा
‘अन्तरराष्ट्रिय ब्रान्डहरू पठाओ र इनड्राइभ नेपालमा आइसकेको परिप्रेक्ष्यमा स्थानीय कम्पनीहरूलाई प्रतिस्पर्धा गर्न चुनौती थपिएको छ । त्यसैले केही स्थानीय राइड शेयरिङ सेवाप्रदायकहरू र अन्य कम्पनी मिलेर यान्गोको सेवा नेपालमा भित्र्याउन लागेका हुन्,’ यान्गो सम्बद्ध एक स्रोतले आर्थिक अभियानलाई भन्यो । ‘यान्गोले त प्रविधिमात्र दिने हो तर नेपालमा सेवा विस्तारका लागि यी नौ कम्पनीले नै लगानी गर्ने हुन् ।’ लगानीका बारेमा प्रश्न गर्दा क्षत्रीले पनि स्पष्ट जवाफ दिएनन् । तर, लगानी धेरै नै हुने उनका भनाइ थियो । यान्गोको सेवा नेपाल ल्याउन लागेको राइड शेयरिङ कम्पनीहरू बाहेक संघीय राजधानी काठमाडौं उपत्यकामा अहिले पठाओ, इनड्राइभ, टुटल, सहारा, सवारी, जुमजुम, सजिलो, ट्याक्सीमाण्डु आदिले राइड शेयरिङ सेवा दिइरहेका छन् । यीमध्ये पठाओले फुड डेलिभरी सेवा पनि दिइरहेको छ । सवारीले राइड शेयरिङ र पार्सल डेलिभरी सेवा दिने बताएको छ ।
यस्तो प्रतिस्पर्धाको वातावरणबीच नयाँ राइड शेयरिङ सेवा सञ्चालनमा आउन लागेको हो । तर, क्षत्री आफ्नो सेवाले बजार लिने कुरामा विश्वस्त छन् ।
‘यान्गो बहुउपयोगी छ । राइड शेयरिङ, लङ रेन्टल, कुरियर, टेक्नोलोजीमा एआई, मनोरञ्जनसँगै अरूअरू पनि समावेश गरिएको छ,’ उनले भने । रूसबाट शुरू भएको यो सेवा हाल ३० भन्दा बढी देशमा सञ्चालनमा छ । नेपालमा इन्स्योरेन्स, अफिस सबै हुने र राइडरहरू समस्यामा परे तत्कालै समाधान गर्ने गरी यो राइड शेयरिङ सञ्चालनमा ल्याउन लागिएको क्षत्रीले बताए । ‘कुनै देशमा यान्गो इनड्राइभभन्दा पनि नम्बर वान भएर बसेको छ, नेपालमा पनि यान्गो एक नम्बर हुने विश्वास छ,’ उनले भने ।
उनका अनुसार पठाओ, टुटलभन्दा फरक यसमा कम्पनीले लिने कमिशन कम हुन्छ । ‘हामीले लिने कमिशन ३ प्रतिशत हुन्छ, कम्पनीले शुरुआती समयमा बोनस अफर गर्नेछ । प्रत्येक ट्रिपको ट्याक्सी चालकलाई १०० र बाइक चालकलाई ३५/४० रुपैयाँ बोनस दिइनेछ,’ उनले भने । इनड्राइभ र पठाओभन्दा धेरै सस्तो हुने दाबी गर्दै क्षत्रीले यसमा ड्राइभरहरूलाई अलि बढी नै फाइदा हुने बताए । ‘बार्गेनिङ सिस्टम हुँदैन । पठाओको जस्तै फिक्स्ड रेट हुन्छ,’ उनले भने ।
यान्गो रूसको मस्कोमा सन् २०११ मा स्थापना भएको एक सिड कम्पनी हो । यो एपमा आधारित राइड–हेलिङ प्लेटफर्मका रूपमा सञ्चालन हुन्छ । यान्गोले १ लाख ९८ हजार डलरको लगानी प्राप्त गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । यान्गोले विभिन्न देशमा आफ्नो सेवा विस्तार गर्न स्थानीय साझेदार र लगानीकर्तासँग सहकार्य गरेको छ । सन् २०२४ मा इजरायलमा यान्गोको राइड–हेलिङ व्यवसाय स्थानीय लगानीकर्तालाई बेचिएको थियो । पाकिस्तानमा पनि यान्गोले लगानीको योजना बनाएको छ, तर लगानीबारे स्पष्ट खुलाइएको छैन ।