काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले नेपाललाई ग्रे-लिस्टबाट बाहिर निकाल्न सरकारसँग मिलेर काम गर्ने र केन्द्रिय बैकको सुपरीवेक्षण क्षमता वृद्धिमा जोड दिने बताएका छन् । गभर्नर नियुक्तिलगत्तै आर्थिक अभियानसँग उनले बैक तथा वित्तीय संस्थाहरुको संस्थागत सुशासन कायम गर्नमा आफू केन्द्रित हुने बताए ।
गत फेव्रुअरीमा सम्पति सुद्धिकरण नियन्त्रण गर्न गठित अन्तरराष्ट्रिय निकाय–फाईनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई ग्रे लिष्टमा राखेको थियो । यसले वनाएको थुप्रै मापदण्डहरु पालना गर्न नसकेको भन्दै एक दशक पछि पुन नेपाललाई ग्रे लिष्टमा राखेको हो ।
राजनीतिक भागबण्डाका आधारमा गभर्नर नियुक्तिमा ढिलाई भएको चर्चाबीच उनले देशको केन्द्रीय बैंकको नेतृत्त्व राजनीति गर्ने ठाउँ नभएको‚ आफू गभर्नर रहुन्जेल राजनीतिबाट प्रभावित नहुने र नियामकीय निकायको प्रमुखको जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गरे ।