सामाजिक सुरक्षा कोषले आगामी वैशाखसम्ममा कामदारका लागि सामाजिक सुरक्षा स्कीम (योजना) ल्याउने तयारी गरेको छ । स्कीम सञ्चालनको कार्यविधि निर्माणका लािग परामर्शदातासमेत नियुक्त गरिसकेकाले चाँडै सञ्चालनमा ल्याइने कोषका निर्देशन टंकप्रसाद पाण्डेले बताए । उनले भने, ‘वैशाखसम्ममा जसरी पनि स्कीम लागू हुन्छ ।’
परामर्शदाताले स्वास्थ्य, कार्यस्थलमा दुर्घटना, प्रसूति बीमालगायत पक्ष कसरी समेट्ने भन्नेबारे मोडालिटी बनाउनेछन् । उनले भने, ‘उनीहरूले बनाएको कार्यविधिबारे सरोकारवालासँग छलफल गरिनेछ ।’ कोषले पीस एण्ड डेभलपमेण्ट कम्पनीलाई परामर्शदाता नियुक्त गरेको छ । कम्पनीले बीमाको स्कीम, कोषमा योगदान गर्ने कर्मचारीको डिजिटल परिचयपत्र र सफ्टवेयरसमेत निर्माणको जिम्मा पाएको छ । त्यसबापत कोषले कम्पनीलाई रू. ३० लाख दिएको छ । कोषको रकम कसरी परिचालन गर्ने तथा क–कसले कोषमा योगदान गरिरहेका छन् भन्ने आधिकारिक तथ्यांक थाहा पाउन पहिलो चरणमा डाटा बेस र परिचयपत्रलाई प्राथमिकता दिइएको पाण्डेले बताए ।
सुरक्षा कोष व्यवस्थापन तथा सञ्चालन नियमावली, २०६७ अनुसार तीनओटा स्कीम कार्यान्वयनमा ल्याउन लागिएको कोषले बताएको छ । पछिल्लो समय संसद् नहुँदा सामाजिक सुरक्षा कोषको ऐन निर्माण कार्य अन्योलमा परेको छ । कोषमा कामदारले खाईपाई आएको तलबको १ प्रतिशत जम्मा गर्नुपर्ने व्यवस्था सरकारले लागू गरेको थियो । त्यसयता निजीक्षेत्र तथा सरकारी क्षेत्रमा काम गर्ने कर्मचारीले आफ्नो तलबको १ प्रतिशत रकम जम्मा गर्दै आएका छन् ।
वर्ष ८, अंक १२८, शुक्रवार, १२ माघ, २०६९