शेयरबजारलाई स्टक बजार र इक्विटी बजार पनि भन्ने गरिन्छ । यो यस्तो बजार हो जहाँ कम्पनी ऐनअन्तर्गत दर्ता भएका सार्वजनिक कम्पनीहरूको शेयर किन्नेबेच्ने गरिन्छ । शेयर भन्नाले कम्पनीको कुल पूँजीलाई निश्चित दरका विभाजित सानोसानो अंश भनेर बुझिन्छ । त्यो विभाजित अंशलाई जसले खरीद गर्छ उसले त्यो कम्पनीको स्वामित्व प्राप्त गर्छ । नेपालको सन्दर्भमा सामान्यतया एउटा शेयरको आईपीओ (इनिसियल पब्लिक अफरिङ) रू. १०० बराबरको हुने गर्छ । पहिला रू. १० को पनि हुने गर्दथ्यो । यसरी विधिवत् स्थापना भएका कम्पनीको शेयर किनबेच गर्ने कामको शुरुआत विसं १९९३ मा स्थापना भएको विराटनगर जुटमिल र १९९४ मा स्थापना भएको नेपाल बैंक लिको शेयर विक्रीबाट भएको हो ।
कम्पनीहरू शुरूमा विधिवत् रूपमा बेलायतमा स्थापना भएका हुन् तर कम्पनी शब्द इटालीबाट आएको मानिन्छ । ‘कम’ भनेको पाउरोटी हो । इटालीमा पहिला पाउरोटी ज्यादै ठूलो हुने एक्लैले खान पनि नसक्ने किन्न पनि नसक्ने भएपछि धेरै मानिस एकै ठाउँमा जम्मा हुने एउटा पाउरोटी किन्ने त्यसलाई काटेर थोरै पेनी (पैसा) मा टुक्रा पाउरोटी खाने चलनबाट कम्पनी बनेको हो । पाउरोटी काटेर सानो बनाएझैं अहिले कुल पूँजी काटेर सानो अंश बनाइन्छ । त्यो नै शेयर हो । प्रत्येक कम्पनीको शेयरलाई एउटै ठाउँबाट किनबेच गर्ने ठाउँ शेयरबजार हो ।
लगानीकर्ता आमव्यक्ति होइन, ऊ विशेष व्यक्ति हो । उसको करमा राज्य चलेको हुन्छ । तसर्थ यो विषयमा राम्रोसँग ध्यान पुर्याएर विद्यार्थीलाई लगानी सचेत बनाउन आवश्यक छ ।
कम्पनी अविच्छिन्न उत्तराधिकारवाला एक कृत्रिम व्यक्ति हो जुन धेरै लामो समयसम्म अस्तित्वमा रहन सक्छ । शेयरबजारमा कम्पनीका शेयरको किनबेच हुन्छ तर दुवैको इतिहास एउटै होइन । शेयर किनबेचको शुरुआत ४०० वर्ष पहिला डच इन्डिया कम्पनीबाट भएको हो । नेदरल्यान्ड्समा शायद यो कम्पनी अहिले पनि छ । यसले समुद्रको किनारबाट पानी जहाजमा विभिन्न सामान भरेर भारत, अमेरिका वा अफ्रिकामा सामान बेच्न पठाउँथ्यो । ठूलो जहाजभरिको सामान एउटैले लगानी गरेर पठाउन नसकिने भएकाले हजारौं मानिस समुद्रको किनारमा आएर पैसा लगानी गर्थे । यदि जहाज कुनै गन्तव्यमा पुगेर नाफा कमाएर फर्किएमा जति नाफा हुन्छ सबैलाई लगानीको अनुपातमा बराबर बाँडिन्थ्यो । जहाज फर्किए त सबैलाई नाफा हुन्थ्यो तर जहाज डुबे घाटा ।
आज पनि शेयरबजारको अवस्था यही हो । जुन कम्पनीले ग्राहकको मन जितेर फर्किन्छ त्यसले नाफा कमाउँछ र सबैलाई फाइदा हुन्छ । घाटामा गए सबैको रुवावासी हुन्छ । शेयर किन्नु लगानी हो । यसमा नाफा वा घाटा दुवै हुन सक्छ । पछि जहाजमा लागनी गर्नेले एउटामात्र जहाजमा आफ्नो सबै सम्पत्ति नलगाएर फरकफरक जहाजमा लगानी गर्न थाले जसले गर्दा एउटा जहाज डुबे पनि अर्कोबाट आम्दानी हुन सक्थ्यो । अहिले पनि शेयरबजारमा एउटा कम्पनीमा मात्र लगानी नगरी राम्रा १०/१२ कम्पनीमा लगानी गर्नुपर्छ । कस्ता कम्पनीमा लगानी गर्ने भनी हेर्न पोर्टफोलियो म्यानेजमेन्ट गरिन्छ । अर्थात् लगानी गर्दा बैँक, वित्तीय संस्था, बीमा, होटेल समूह, लघुवित्त, जलविद्युत् आदि फरकफरक समूह र कम्पनीमा लगानी गरिन्छ ।
अर्को बुझ्नुपर्ने कुरा के हो भने सामान्य अवस्थामा आईपीओ अर्थात् पहिलोपटक आम जनतालाई रू. १०० मा कम्पनीहरूले शेयर बेच्नुपर्छ । त्यसपछि शेयरको दोस्रो बजार शुरू हुन्छ जसमा मूल्य माग र आपूर्तिको आधारमा निर्धारण हुन्छ । त्यसपछि दोस्रो बजारको मूल्यअनुसार शेयर किनबेच हुन्छ । नेपालमा राष्ट्रिय बीमा कम्पनीको रू. १०० किताबी मूल्य (बुक भ्यालु) भएको एक शेयर किन्न अहिले १३ हजार २८० तिर्नुपर्छ । यस्तो मूल्य घटबढ हुन्छ । यसरी कम्पनीको शेयर किन्न चाहनेले किन्न पाउने र बेच्न चाहनेले बेच्न पाउने बजार नै शेयरबजार हो । शुरूमा बीमा कम्पनीको शेयरमा रू. १०० मात्र लगानी गरिएको भए त्यसबाट लाभांश, बोनस शेयर गरेर लाखांै कमाइ हुने रहेछ । भारतको भिप्रो भन्ने कम्पनीमा ४० वर्षअगाडि रू. १००० लगानी गर्ने व्यक्तिले अहिले ७ अर्ब कमाइ गरेको छ ।
जुन कम्पनीले ग्राहकको मन जितेर फर्किन्छ त्यसले नाफा कमाउँछ र सबैलाई फाइदा हुन्छ । घाटामा गए सबैको रुवावासी हुन्छ । शेयर किन्नु लगानी हो । यसमा नाफा वा घाटा दुवै हुन सक्छ ।
यी रमाइला पक्ष हुन् । यहाँ घाटा पनि हुन सक्थ्यो नाफामात्र हेरेर भएन । माथि उल्लेख गरिएका केशमा घाटा भएको भए मात्र रू. १०० वा १००० मात्र गुम्थ्यो, त्यो भन्दा बढी गुम्ने कानूनी आधार नै हुँदैन । तर, कमाइ भने संगठित संस्थाबाट असीमित हुन सक्छ । त्यसैले बच्चाबच्चीलाई स्कूलमा सानैदेखि शेयरबजार वा अन्य क्षेत्रमा लगानीको महत्त्वबारे सिकाउनुपर्छ । पाठ्यक्रममा नै यसका प्रक्रियाको बारेमा सानैदेखि रोचक पाराले जानकारी दिन आवश्यक छ । शेयरबजारबाट सबैले कमाउँछन् भन्ने होइन । यसले लगानीको महत्त्व सिकाउँछ । कसै न कसैले लगानी नगर्ने हो भने देश चल्दैन । विश्व नै ठप्प हुन्छ भन्ने कुरा शेयरबजारले सिकाउँछ ।
शेयर किन्नुको अर्थ त्यो कम्पनीको सानो अंशको मालिक बन्नु हो । खरीद गरेपछिका दिनमा कम्पनीले नाफा कमाएमा त्यसको केही प्रतिशत शेयरवालाले पनि प्राप्त गर्छ । घाटा भएमा त्यो पनि बेहोर्नुपर्छ । कम्पनीको मुख्य विशेषता के हो नाफा जति पनि हुन सक्छ तर घाटा आफूले लगाएको रकमभन्दा बढी वहन गर्नु पर्दैन ।
सबैले शेयरबजारबाट कमाउँछन् भन्ने छैन किनकि एउटाले कमाउँदा अर्कोले गुमाउनु नै पर्छ । कम्पनीका विभिन्न सकारात्मक सूचकहरू हेरेर लगानी गर्दा नाफा हुने सम्भावना बढी नै हुन्छ । जस्तै पीई रेसियो, प्रतिशेयर आम्दानी त्यो भन्दा पनि कम्पनीको वस्तु कत्तिको विक्री भएको छ आदि । अरूको हल्लामा लागेर भन्दा आफ्नै तरीकाले कम्पनी विश्लेषण गरेर शेयरबजारमा लगानी गर्न सकिन्छ । नेपालमा विसं १९९४ बाट अहिलेसम्म क्रमिक रूपमा शेयरबजारको सुधार भइरहेको छ । २०३३ सालमा सेक्युरिटी खरीदविक्री केन्द्रको स्थापना भएपछि पूँजीबजारको विधिवत् स्थापना भयो । यसैलाई २०५० मा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का रूपमा स्थापना गरियो ।
अहिले नेपालमा ६३ लाखभन्दा बढीले डिम्याट खाता खोलेर शेयर किनबेच गर्ने गर्छन् । अहिले ३३० भन्दा बढी कम्पनीहरू नेप्सेमा आबद्ध छन् । यसको नियमन गर्न धितोपत्रबोर्डको स्थापना गरिएको छ । शेयरबजारलाई विभिन्न घटनाले प्रभाव पार्छन् । भारतमा यही वर्ष ३ जुनमा त्यहाँको शेयरबजार एकै दिनमा २५०० अंकले बढेको थियो भने अर्को दिन सबैभन्दा बढी ३२०० अंकले घटेर लगानीकर्ताको सातो लिएको थियो । यो बजारमा घटबढको कुनै निश्चित आधार हुँदैन । नेपालको नेप्से अहिले २००० को आसपासमा छ भने २०७८ मा यो सर्वाधिक माथि ३२०० सम्म पुगेको थियो ।
मानिसमा उद्यमीय साक्षरता जगाउन पाठ्यक्रममा शेयरबजारका बारेमा जानकारी दिन जरुरी छ । कसैले यसलाई जुवा भनेर आलोचना गरेको पाइन्छ तर यो जुवा नै हो भने मानिसलाई कुलतमा नलैजाने जुवा हो । तसर्थ यसका बारेमा साक्षर बनाउनु राज्यको कर्तव्य हो । सके यसबाट कमाइ नै होला नभए पनि लगानीविना आम्दानी हुँदैन भन्ने उद्यमशील चेतना युवामा जाग्नेछ । वारेन बफेट, राकेश झुनझुनवालाका लगानीका सिद्धान्त अध्ययनका सामग्री हुन् । नेपालमै यसका धेरै जानकार छन् । कुनै शुक्रवार सबै विद्यालयले शेयरबजारका बारेमा जानकारी दिन सके उनीहरूमा रुचि जाग्न सक्छ । लगानीकर्ता आमव्यक्ति होइन, ऊ विशेष व्यक्ति हो । उसको करमा राज्य चलेको हुन्छ । तसर्थ यो विषयमा राम्रोसँग ध्यान पुर्याएर विद्यार्थीलाई लगानी सचेत बनाउन आवश्यक छ । जतिसुकै आदर्शका कुरा गरे पनि दाम र काम छैन भने त्यो अवस्था सबैका लागि निकै कठिन हुन्छ ।
शेयर बजारमा ढंग पुर्याएर लगानी गरे नाफा कमाउन सकिन्छ । तर सबैले पैसा कमाएको पाइँदैन । थोरै रकमबाट पनि शेयर बजारमा प्रवेश गर्न सकिन्छ । हरेक महीना लगानी थोरैथारै गरेर बढाउन सकिन्छ । पोर्टफोलियो सन्तुलित बनाउनुपर्छ । शुरूमा लगानी गर्दा प्राय: सस्तो स्टकमा ध्यान जान्छ । सस्तो स्टकमा कम लगानी गर्दा कमाउन सजिलो हुन्छ र गुमे पनि धेरै गुम्दैन भन्ने सोच हुन्छ । खासमा त्यही कम्पनीमा लगानी गर्नुपर्छ जसको व्यापार आम्दानी राम्रो छ र कम्पनी चलाउने व्यवस्थापन राम्रो छ । शेयर बजारमा गिरावट वा वृद्धि आइनै रहन्छ । जसले लामो समयसम्म लगानी गरिरहन्छ उसले नै कमाउँछ । त्यसैले बजार ओरालो लाग्दा आत्तिहाल्नु हुँदैन । बजार तल झर्दा शेयर थप्दै जानुपर्छ । शेयर बजारबाट आएको आम्दानीलाई एक अर्को सुरक्षित लगानीको रूपमा अर्को ठाउँमा लगानी गर्नु बुद्धिमानी हुन्छ । यस बाहेक शेयर बजारबाट बीच बीचमा आफ्नो मुनाफालाई नगदमा परिवर्तन गर्न सक्नुपर्छ । शेयर बजारमा लगानी गर्न बजारको बारेमा जानकारी आवश्यक हुन्छ । शेयर बजारलाई अर्थतन्त्रको ऐना मानिन्छ । अर्थतन्त्र बिग्रिएका बेला शेयर बजार बिग्रन्छ । त्यसैले आर्थिक परिसूचकहरू पनि याद गर्नुपर्छ । शेयर बजारबारे सबै जानकार हुनुपर्छ । पैसाविना मानिसको जीवन नचल्ने हुनाले पैसाको कारोबार गर्न जान्नुपर्छ र कमाउने माध्यम पनि थाहा पाउनु जरुरी हुन्छ ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्दछन् ।