विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुनसरी मोरङ औद्योगिक कोरिडरमा सञ्चालित उद्योगका प्रतिनिधिलाई श्रम बजार सूचना प्रणालीको संस्थागत विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)को सहयोगमा सम्पन्न भएको छ ।
महासंघका कोषाध्यक्ष सुवास आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उनले श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि महासंघले थालेको यो प्रयासले उद्योग प्रतिष्ठानमा कामदारको माग र आपूर्तिको बेमेललाई सम्बोधन गर्ने बताए ।
कार्यक्रममा इटहरीस्थित सगरमाथा गार्मेन्टका सञ्चालक डम्बर तामाङले सरकारले श्रमिकहरूलाई प्रदान गरेको न्यूनतम पारिश्रमिकले जीविकोपार्जन गर्न धौधौ परिरहेको बताए । अझै पनि यो कतिपय उद्योग प्रतिष्ठानहरूले पूर्णरूपमा लागू नगरेको उनको भनाइ छ । औषधि व्यवसायी संघका अध्यक्ष कुमार खतिवडाले यो क्षेत्रमा धेरै दक्ष जनशक्ति आवश्यक रहे पनि प्राप्त गर्न कठिनाइ भएको बताए । रिलायन्स स्पिनिङका तिलकराज कार्कीले यस सूचना प्रणालीमा बढीभन्दा बढीलाई अबद्ध गर्न सके फाइदा हुने बताउँदै यसले ग्रासरुटका मान्छेलाई कसरी जोड्न सक्छ भनी प्रश्न गरे । रघुपति जुट मिल्सका सुदन पोखरेलले जुट उद्योगमा चाहिने स्पिनिङ र लुमसम्बन्धी शीप भएको जनशक्ति पाउन गाह्रो भएको बताए ।
कार्यक्रममा आसमान नेपालका संयोजक गणेश दाहालले महासंघको श्रम बजार सूचना प्रणाली संस्थागत विकास पहलको प्रशंसा गरे । निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष ध्रुवराज कार्कीले निर्माण व्यवसाय क्षेत्रमा दक्ष जनशक्तिको आपूर्ति हुन नसकेको बताए ।
कार्यक्रममा समृद्धि हेल्भेटासका कार्यक्रम अधिकृत पोषराज निरौलाले यो सफ्टवेयरमार्फत रोजगारदातालाई सम्बन्धित सरोकारवालासँग प्रत्यक्ष जोड्न खोजेको भन्दै महासंघको पहलमा निर्माण हुने यस प्लेटफर्ममा उद्योग प्रतिष्ठानहरूले पहुँच राख्ने हुँदा अहिले देखिएको जनशक्तिको माग र आपूर्तिसम्बन्धी समस्या समाधान हुने बताए । उनले उद्योग प्रतिष्ठानहरूले दक्ष कामदारलाई उत्प्रेरणा जगाउने कार्य गर्नुपर्ने पनि बताए । कार्यक्रममा विभिन्न उद्योग, प्रतिष्ठान र व्यावसायिक संघसंस्थाका प्रतिनिधि गरी करीब ५० जनाको सहभागिता रहेको थियो ।