राजधानीमा आयोजित एक कार्यक्रममा तोकिएको वस्तुमात्र आयातनिर्यात गर्न पाउने योजना आउन लागेको जानकारी पाइयो । तर, अहिलेसम्म यसका बारेमा उद्योगी–व्यवसायीलाई सुइँकोसम्म दिइएको थिएन । भन्सार प्रणालीलाई समयानुकूल बनाउन र व्यवसायी–उद्योगीलाई सहज हुने जुनसुकै योजना ल्याउन सरकार स्वतन्त्र छ ।
तर, बिग्रँदो औद्योगिक तथा व्यावसायिक वातावरणलाई झनै खराब अवस्थामा धकेल्ने योजना तथा नीति अख्तियार गरिनुहुन्न । सामान्यत: सरकारले ल्याउने योजना सार्वजनिक हुनुभन्दा अघि सम्बन्धित पक्षलाई जानकारी हुनुपर्छ । तर, अहिले यसको ठीक विपरीत अवस्था छ । अर्थात् तोकिएको वस्तुमात्र आयातनिर्यात गर्न दिनेसम्बन्धी नीति सार्वजनिक हुनुभन्दा अघिसम्म यो उद्योगी–व्यवसायीको जानकारीमा आएको थिएन ।
दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच रहेको नेपाली अर्थतन्त्रलाई प्रतिकूल हुने नीति अवलम्बन गरिए यहाँको अर्थतन्त्रमा पहिरो जाने निश्चित छ । आयातनिर्यात चक्रलाई दीर्घकालसम्म असर पर्ने प्रकृतिका नीतिहरू कार्यान्वयन गर्नुपूर्व सरकारले सम्बन्धित विभिन्न पक्षसँग यस बारेमा गहन छलफल गर्नुपर्छ । अहिले सरकारले सीमा तोकेर मात्र आयातनिर्यात गर्न दिने भनी ल्याउन लागेको योजनाले हाम्रोजस्तो कमजोर अर्थतन्त्र भएको मुलुकलाई झन् खराब अवस्थातिर धकेल्नेछ ।
(नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेशकुमार अग्रवालसँगको कुराकानीबाट)
वर्ष ८, अंक १२९ आइतवार, १४ माघ, २०६९