मधेश प्रदेशलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने भन्दै अहिले पर्यटन व्यवसायीले ‘घुमौँ मधेश बुझौँ मधेश’ अभियान चलाइराखेका छन् । प्रचारप्रसारकै बलमा आसपासका क्षेत्रमा केही पर्यटकीय स्थलहरूको अधिक दोहन भइराखेको छ । तर, मधेशमा प्रचुर सम्भावना बोकेका यस्ता स्थानहरू विलुप्त छन् । आर्थिक गतिविधि र पूर्वाधारमा तुलनात्मक सम्पन्न भएर पनि यहाँको सम्भाव्यता उपयोग हुन सकेको छैन ।
- मधेशमा पर्यटन नारामा मात्रै सीमित छ । यहाँका पर्यटकीय सम्भावनाको उपयोग र नयाँ गन्तव्यको खोजीमा सरोकारका सबै पक्ष उदासीन देखिएका छन् ।
- जनकपुर र भारतको अयोध्यासँग विशेष सम्बन्ध छ । यो धार्मिक आस्था र सांस्कृतिक सम्बन्धलाई हामीले पर्यटनको दृष्टिकोणबाट हेरेकै छैनौं ।
- अहिले वीरगञ्ज र आसपासका क्षेत्रमा भारतीयलाई लक्षित गरेर क्यासिनो खुलेका छन् । तर, पैसा ल्याउने अव्यावाहारिक प्रक्रियाका कारण लाभ लिन सकिएको छैन ।
सरकारी तथ्यांक केलाउँदा नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने देश भारत हो । वर्ष २०८० मा सबैभन्दा बढी पर्यटक भारतबाट आएको तथ्यांक सरकारसित छ । आर्थिक सर्वेक्षण २०८१ का अनुसार त्यो वर्ष भारतबाट ३ लाख २० हजार पर्यटक भित्रिएको आँकडा छ । तर, यो तथ्यांक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आएका पर्यटकको मात्रै हो । खुला सिमानाबाट भित्रिने भारतीय पर्यटकको त लेखाजोखा नै छैन । नेपाल र भारतबीच खुला सिमाना भएकाले स्थल मार्गबाट भित्रिएका भारतीय पर्यटकको तथ्यांक राखिएको पाइँदैन । मधेशको कुरा गर्दा, प्रदेशका ८ ओटै जिल्लाको खुला सिमाना भारतसित जोडिएको छ । भारतीय पर्यटकलाई मात्रै केन्द्रित गर्दा पनि यहाँको पर्यटनले गति लिन समय लाग्दैन । तर, मधेशमा पर्यटन नारामा मात्रै सीमित छ । यहाँका पर्यटकीय सम्भावनाको उपयोग र नयाँ गन्तव्यको खोजीमा सरोकारका सबै पक्ष उदासीन देखिएका छन् ।
सिमानामा सास्ती
स्थलमार्गबाट भित्रिने भारतीय पर्यटक सिमानादेखि सकस झेल्न बाध्य हुन्छ । गाडी लिएर आउने पर्यटकहरूलाई सहजीकरणको कुनै पहल र प्रयास देखिएको छैन । पर्यटन प्रवर्द्धनका नाममा हुने औपचारिक कार्यक्रममा सहजीकरणका कुरामात्र हुन्छन् । पर्यटन प्रवर्द्धनका लागि भरलाग्दो काम देखिएको छैन । नाकाबाट भित्रिँदा सहजीकरण त छैन नै, उल्टै अनेक बहानामा दुःख दिने काम भइराखेको देखिन्छ । सवारीसाधनको चेकजाँचको अव्यावहारिक प्रक्रियाले पर्यटक हैरानी खेप्न बाध्य छन् । नाकामा एक ठाउँमा चेकजाँच र भन्सार प्रक्रिया पूरा गरेपछि अत्यावश्यकबाहेक अन्य ठाउँमा रोकेर हैरानी दिने काम बन्द गरिनुपर्ने कुरा खुबै हुन्छ । तर, व्यवहारमा देखिएको छैन । वीरगञ्ज नाकाकै कुरा गर्ने हो भने आधा किलोमीटरको दूरीमा ५ ठाउँमा चेकजाँच हुन्छ । त्यसमाथि पर्यटकमाथिको सुरक्षाकर्मीको व्यवहार यस्तो छ कि, एकपटक आएको पर्यटक दोहोर्याएर आउने मनस्थितिमा हुँदैन ।
मुद्रा सटहीका समस्या
भारतीय पर्यटकले नेपाल भित्रिँदा लिएर आउने भारतीय रुपया कारण उनीहरू समस्या परेका घटना बेलाबेलामा सार्वजनिक हुन्छन् । सरकारले अहिले प्रतिव्यक्ति ५ हजार अमेरिकी डलरबराबरको भारतीय रुपया साथमा ल्याउन पाउने भनेको छ । तर, नेपालमा १ सय रुपयाको नोटको मात्र प्रचलन वैध छ । अब भारतीय रुपया ८५ कै दर मान्दा पनि ५००० अमेरिकी डलरबराबर ४ लाख २५ हजार भारतीय रुपया हुन्छ । यो रकम १ सय रुपया दरको नोटमा बोक्दा कति सहज होला ? यसअघि एउटा व्यक्तिले २५ हजार भारतीय रुपयाभन्दा बढी ल्याउन नपाउने प्रवाधान थियो । एक सय रुपया दरको नोटको प्रावधानले २५ हजार रुपया बोक्न त सकस हुने स्थितिमा यो प्रावधानमा सुधार नगरेसम्म सहजीकरण हुने अवस्था देखिँदैन । यो नियमका कारण कतिपय भारतीय थुनामा बस्नुपर्ने अवस्था बनेको छ ।
अहिले वीरगञ्ज र आसपासका क्षेत्रमा भारतीयलाई लक्षित गरेर क्यासिनो खुलेका छन् । तर, पैसा ल्याउने अव्यावहारिक प्रक्रियाका कारण लाभ लिन सकिएको छैन । भारतीयका लागि भनेर खुलेका क्यासिनोमा नेपालीहरू बिल्लिबाँठ भएका छन् । वीरगञ्जका क्यासिनोले नेपालीलाई खेलाएको भन्दै मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहले केही महीनाअघि वीरगञ्जका क्यासिनो अनुगमन गरेका थिए ।
पर्यटकलाई सूचनाको कमी
नाकामा पर्यटकलाई सहजीकरणका लागि सूचना केन्द्र, सहजीकरणका पूर्वाधार, मुद्रा सटहीको व्यवस्था, आसपासका पर्यटकीय क्षेत्रका बारेमा जानकारी मूलक सूचना र सामग्रीको प्रबन्धजस्ता कुरामा सरोकारका निकाय चुक्दै आएका छन् । होटेल र पर्यटन व्यवसायीले मधेशमा पर्यटकका लागि कुनै आकर्षक प्याकेज बनाएको जानकारी छैन । यस्तोमा एउटा पर्यटक सीमावर्ती शहरमा किन रोकिन्छ ? पर्यटकलाई लोभ्याउने शैली र आकर्षणको अभावमा मधेशका नाका र जिल्लालाई भारतीय पर्यटकले ट्रान्जिटमात्र बनाएको यथार्थ हो ।
केही पर्यटकीय स्थल हेरौं, जानकी मन्दिर आस्थाको केन्द्र त हो, तर पर्यटकीय गतिविधि बढाउन थुप्रै सुधारको खाँचो छ । त्यहाँका तालतलाउ, धार्मिक मेला महोत्सव, मिथिला संस्कृतिको प्रचार र व्यवस्थापन हुन सकेको छैन । भारतसित धर्म र संस्कृति मिल्दोजुल्दो भएकाले यी क्षेत्रलाई पर्यटकीय प्याकेजका रूपमा विकास गर्दा भारतीय पर्यटक तान्न सकिन्छ । जनकपुर र भारतको अयोध्यासँग विशेष सम्बन्ध छ । यो धार्मिक आस्था र सांस्कृतिक सम्बन्धलाई हामीले पर्यटनको दृष्टिकोणबाट हेरेकै छैनौं । १८औं सार्क शिखर सम्मेलनाताका यी दुई शहरबीच भगिनी सम्पर्क स्थापित गर्ने चर्चा चलेको थियो । त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा आएका बेला जनकपुर र पूर्वी नेपालको वराह क्षेत्रको विकासमा सहयोगको प्रतिबद्धता आएको थियो । यी योजना प्रदेशको पर्यटन प्रवर्द्धनका महत्त्वपूर्ण आधार बन्न सक्ने थिए । यसमा भरलाग्दो काम हुन सकेको छैन ।
वीरगञ्ज नाकाबाट भित्रिने बित्तिकै शंकराचार्यद्वार, केन्द्रभागमा रहेका सूर्यमन्दिरसहितको घडीअर्वा पोखरी, अलखिया मठ, महावीरस्थान, भिसुवाको बौद्ध चैत्य परिसर, गहवामाईको मन्दिर, बिर्तामाई, भुटनदेवी मन्दिर, विन्ध्यवासिनी, वीरगञ्जको घण्टाघर, लक्ष्मनवाको विश्वहिन्दूपार्क, पर्सा महुवनको पारसनाथमठ पनि धार्मिक पर्यटनको पर्याप्त सम्भावना समेटेका स्थान हुन् । करिब २० किलोमीटर टाढा बाराको बरियारपुरमा प्रसिद्ध धार्मिक गढीमाई छ । प्रत्येक ५ वर्षमा यहाँ लाग्ने मेला एशियामै सबैभन्दा बढी पशुबली चढाइने मेलाका रूपमा चर्चित छ । भक्तजनले शक्ति पीठमा भाकलअनुसार मनोकांक्षा पूरा भएको विश्वासमा बली चढाउँछन् । धार्मिक आस्थालाई पर्यटकीय उद्देश्यमा कसरी उपयोग गर्न पनि सकिन्छ ? यसमा योजनाको कमी छ । रणनीतिक योजनाको अभावमा यो प्रत्येक ५ वर्षमा मानिसको धार्मिक जमघटबाहेक अरू केही सावित भएको छैन । बारा जिल्लाकै सेरोफेरोमा कयौं यस्ता धार्मिक तथा पुरातात्त्विक महत्त्वका स्थान छन् । तर, जानकारीको अभावमा पर्यटक पुग्दैनन् । गढीमाईकै पूरक मेला मानिने बाराको जितपुर, रौतहटको सुन्दरपुर, दुधियाधार, बलुवा, मदनपुर, माधोपुर, हर्दिया पल्टुवा तथा सर्लाहीको मिर्जापुर र खौर्वामा लाग्ने मेलाको खासै चर्चा हुँदैन ।
बाराको सिम्रौनगढ एउटा ऐतिहासिक, पुरातात्त्विक र धार्मिक धरोहर हो । सिम्रौनगढ संरक्षणको पर्खाइमा आफ्नो अस्तित्व नामेट गर्दैछ । शिखर शैलीमा बनेको कङ्काली भगवतीको मन्दिर, रामजानकी मन्दिर, सिम्रौनगढका तत्कालीन राजा शिव सिंहको दरबार मानिने सनुखिया माई, कोतवाला, हरिहरपुर मन्दिर, सिम्रौनगढका पोखरी र इनारका अवशेषहरू धार्मिक महत्त्वका स्थल हुन् । जसका धार्मिक र पुरातात्त्विक विशेषताहरूले पर्यटकलाई सजिलै आकर्षित गर्न सक्छन् । ५२ बिगाहा क्षेत्रफलमा फैलिएको मानवनिर्मित झरोखर पोखरी र इशरा पोखरी आकर्षक स्थान भएर पनि पर्यटकको आँखामा परेका छैनन् । महेन्द्र राजमार्गको पसाहा पुलदेखि ५ किलोमीटर पूर्व चारकोसे झाँडीको हलखोरिया दह बाराकै निजगढबाट समेत १० किलोमीटरको दूरीमा छ । यो हात्ती, बाघ, हरिण, गैंडा, भालु, पानीहाँस, धनेश, कालिज र मयूरलगायत पशुपन्छीको वासस्थान भएकाले पर्यटक आकर्षित गर्न नसकिने होइन । पर्यटकीय महत्त्वको चुरियामाई बारा जिल्लाकै एउटा धार्मिक आस्था समेटेको स्थल हो । यस्ता स्थानहरूलाई समावेश गरी पर्यटकीय योजना बनाउन सकिन्छ । तर, भरपर्दो काम हुन सकेको छैन ।
साढे २ सयभन्दा बढी माछा पोखरी भएको बाराको बोधवन र परवानीपुरको कृषिवाली अनुसन्धान केन्द्र कृषि पर्यटनका लागि सम्भावित क्षेत्र हुन सक्छन् । बारा, पर्सा, मकवानपुर र चितवनको ४ सय ९९ वर्ग किलोमीटर क्षेत्रफलको पर्सा राष्ट्रिय निकुञ्ज महत्त्वपूर्ण छ । जंगली हात्तीको मुख्य वासस्थान भनिए पनि पाटेबाघ, चितुवा, भालु, गौरी गाई, निलगाई, चित्तल, हुँडारलगायत जनावर र तीन सय प्रजातिका चराचुरुङ्गी पाइन्छन् । पर्यटकीय उद्देश्य भने अलमलमा छ । यहाँको पर्सा निकुञ्ज पार गरेर पर्यटक चितवनको सौराहमा हात्ती चढ्न पुग्छन् । बाटोमै पर्ने अमलेखगञ्जमा पनि हात्ती चढ्न पाइन्छ भन्ने जानकारी छैन ।
वीरगञ्ज भित्रिएका पर्यटकलाई मधेश प्रदेशमा कम्तीमा ४ दिन रोक्न सकियो भने त्यो प्रदेशको पर्यटनमा ठूलो उपलब्धि हुनेछ ।
पूरक सम्भावना र उपयोग
केही वर्षअघि बाराको सिमरा र पोखराबीच हवाई उडान शुरू भएको थियो । यसको उद्देश्य भारतीय पर्यटकलाई पोखरा पुर्याउने नै मुख्य थियो । त्यसबेला मधेश र गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीसमेत सहभागितामा पर्यटन प्रवर्द्धनको अन्तरप्रदेश सहकार्य भएको थियो । त्यसले निरन्तरता त पाएन नै, अहिले सिमरा-पोखरा उडानसमेत रोकिएको छ । मधेश र गण्डकीको सम्भावनालाई जोड्न भन्दै बाराको सिमराबाट पोखराको उडान शुरू गर्दा निकै तामझाम गरिएको थियो । प्रदेशका सरकारस्तरीय भ्रमण आदानप्रदान पनि भए । वास्तवमा पर्यटन भनेको प्रचारप्रसारकै खेती हो । प्रचारप्रसारकै बलमा आसपासका केही स्थानको अधिक दोहन भइरहँदा मधेशका सम्भावना खेर गइरहेका छन् । प्रदेश र सरोकारका स्थानीय सरकारले प्रचारप्रसार, प्रवद्र्धन र निजीक्षेत्रलाई पर्यटकीय पूर्वाधारमा लगानीका लागि प्रोत्साहनका योजना ल्याउनुपर्छ ।
ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।