पछिल्ला केही वर्षमा विश्वका धेरै भागहरूमा कानुनी कागजातहरू (जस्तैः परिचयपत्र, राहदानी, चालक अनुमति पत्र आदि) मा डिजिटल तत्त्वहरू थपिने क्रम बढेको छ । यो सरकार र नागरिक दुवैका लागि झनै महत्त्वपूर्ण बन्दै गएका छन् । सरकारहरूले डिजिटल उपकरणहरूको सहायताले कागजात निर्माण र नाम दर्ता प्रक्रियालाई अझ सक्षम बनाउन सक्छन् । विशेष गरी युवापुस्ता जसले स्मार्टफोनजस्ता उपकरणमार्फत डिजिटल सेवाहरूको चाहना राख्छन्, तिनले कागजातहरू प्रयोग गर्न झन् सहज मान्नेछन् । कागजातको इकोसिस्टममा डिजिटल प्रविधि भित्र्याउने एउटा प्रमुख पक्ष हो—इलेक्ट्रोनिक चिपको प्रयोग । यस प्रविधिले डेटालाई सुरक्षित भण्डारण गर्न र डिजिटल प्लेटफर्महरूमा परिचय प्रमाणित गर्न सहज बनाउँछ । कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग पनि प्रमुख प्रवृत्तिमा पर्न आउँछ । यो उपकरण कागजातको गुणस्तर र सूचनामा हुने त्रुटिहरू पहिचान गर्न उपयोगी साबित भएको छ । यी कागजातहरू अत्यन्त कडाइका साथ तय गरिएका मापदण्डअनुसार बनाइन्छन् । ती मापदण्डहरूमा थोरै मात्र फरक भए पनि कागजात अमान्य हुन सक्छ । त्यसैले, एआईले उत्पादनको प्रारम्भिक चरणमै त्रुटि हटाउन मद्दत गर्छ ।
नाम दर्ताको समयमा व्यक्तिको विवरण मिल्दोजुल्दो छ कि छैन भनेर एआईले तुरुन्तै पत्ता लगाउन सक्छ । यसले परिचयमा एकरूपता ल्याउन र सुरक्षित बनाउन थप परीक्षणको आधार बनाउँछ ।
हालै परीक्षण चरणमा रहेको भेरिडोजको एउटा उपकरण यात्रा सम्बन्धी क्षेत्रमा विशेष चासोको विषय बनेको छ । यो उपकरणले पासपोर्टमा भएका संकेतहरूको विश्लेषण गरेर यात्राको ढाँचा पत्ता लगाउँछ । यसले एआई आधारित छवि पहिचान र आप्टिकल क्यारेक्टर रिकग्निशनको संयोजन प्रयोग गर्छ, जसले प्रस्थान र आगमनको मिति पढ्छ । यसले पासपोर्टधारीले कुन देश कहिले र कति समयका लागि भ्रमण गर्यो भन्ने जानकारी स्वतः दिन्छ । यसअघि यस्तो कार्य मान्छेले गर्नुपर्थ्यो । यसको फाइदा यात्रुहरूले प्रत्यक्ष रूपमा अनुभव गर्न थालेका छन् । सीमापार प्रक्रियामा यसको प्रयोग बढ्दो छ । हवाई अड्डाहरूमा यात्रुहरू आफैले पासपोर्ट स्क्यान गर्ने र बायोमेट्रिक विवरण दिन सक्ने सेल्फ सर्भिस डेस्कहरूको प्रयोग बढ्दो छ । यसरी शारीरिक जाँचको आवश्यकतालाई कम गर्न सक्छ ।
त्यस्तै, इगेटको प्रयोगले बढ्दो यात्रु संख्यालाई व्यवस्थापन गर्न सजिलो बनाएको छ । यस्तो डिजिटल फस्ट लाइन इन्स्पेक्सनले अनुहार परिवर्तन जस्ता ठगीहरूको पहिचान पनि मान्छेले भन्दा भरपर्दो ढंगले गर्छ । यस्ता मामिलामा दोस्रो चरणमा मात्रै मानवद्वारा जाँच गरिन्छ । सीमामा प्रयोग हुने डिजिटल उपायहरू अन्य सरकारी सेवाहरूमा पनि लागू गर्न सकिन्छ । एआईले विवरणमा हुने विसंगति पत्ता लगाउन सक्छ । बायोमेट्रिक डेटाको सहज र छिटो संकलन सम्भव भएको छ । यी प्रविधिहरूको प्रयोग सरकारले आवश्यक देखेको छ र ती क्षेत्रमा लगानी गर्न इच्छुक देखिन्छ । तर, शतप्रतिशत डिजिटल परिचय प्रणाली हालको अवस्थामा सम्भव देखिँदैन । डिजिटल परिचय प्रणालीका धेरै फाइदाहरू भए पनि केही चुनौतीहरू बाँकी नै छन् । भौतिक कागजातहरूमा होलोग्राम वा स्पर्श अनुभव जस्ता सुरक्षात्मक विशेषता हुन्छन् जुन डिजिटल कागजातहरूमा हुँदैन । डिजिटल डेटालाई सुरक्षित राख्न क्रिप्टोग्राफी जस्ता उपायहरू प्रयोग गरिन्छ तर ती मोबाइलजस्ता तुलनात्मक रूपमा कम सुरक्षित उपकरणमा स्थानान्तरण गर्दा जोखिम बढ्न सक्छ । डिजिटल परिचय प्रणालीका लागि ठूलो डेटा प्रशोधन गर्ने क्षमता र राम्रो नेटवर्क पूर्वाधार आवश्यक पर्छ । प्रयोगकर्तालाई पनि यो प्रणाली सजिलो र अपनाउन मिल्ने हुनुपर्छ । अन्ततः, डेटा गोपनीयता र डिजिटल सार्वभौमिकता अत्यन्त महŒवपूर्ण विषय हुन् । डिजिटाइजेसनले परिचय प्रणालीमा बलियो जरा गाडिसकेको छ । यसले यात्रालाई सुरक्षित, छरितो बनाउँछ र अधिकारीहरूको काम पनि सहज बनाउँछ । यो प्रक्रिया थप परिष्कृत बन्दै जानेछ । कागजी डकुमेन्टहरू पूर्ण रूपमा हट्ने वा नहट्ने भविष्यले देखाउनेछ । तर यसलाई सशक्त बनाउँदै लैजानु अहिलेको आवश्यकता हो ।
(रिसर्चगेटबाट)