संयुक्त राष्ट्रसंघको एक नयाँ जनसांख्यिकीय प्रतिवेदनअनुसार भारतको जनसंख्या २०२५ मा १ दशमलव ४६ बिलियन पुग्ने अनुमान छ, जुन विश्वको सबैभन्दा धेरै हो । प्रतिवेदनले यो पनि देखाएको छ कि भारतको कुल प्रजनन दर प्रतिस्थापन दरभन्दा तल झरेको छ ।
यूएनएफपीएको २०२५ को स्टेट अफ वर्ल्ड पपुलेशन प्रतिवेदन ‘द रियल फर्टिलिटी क्राइसिस’ले प्रजनन दर घट्ने देखाएको छ । यसले दाबी गरेको छ कि लाखौं मानिसले आफ्नो वास्तविक प्रजनन लक्ष्य प्राप्त गर्न सकेका छैनन् । यो नै वास्तविक संकट हो, जनसंख्या कम वा धेरै हुनु होइन । प्रतिवेदनले जनसंख्या संरचना, प्रजनन दर र जीवन प्रत्याशामा प्रमुख परिवर्तनहरू पनि देखाएको छ, जसले ठूलो जनसांख्यिकीय परिवर्तनको संकेत दिन्छ ।
प्रतिवेदनले पत्ता लगाएको छ कि भारतको कुल प्रजनन दर १ दशमलव ९ जन्म प्रतिमहिलामा झरेको छ, जुन प्रतिस्थापन स्तर २ दशमलव १ भन्दा तल छ । यसको मतलब औसतमा भारतीय महिलाहरूले एक पुस्ताबाट अर्को पुस्तामा जनसंख्या कायम राख्न आवश्यकभन्दा कम सन्तान जन्माउँदै छन् । जन्मदर घट्दै गए पनि, भारतको युवा जनसंख्याको अंश ठूलो छ । यसमा ०–१४ वर्षको आयुसमूहमा २४ प्रतिशत, १०–१९ वर्षमा १७ प्रतिशत र १०–२४ वर्षमा २६ प्रतिशत छन् । देशको ६८ प्रतिशत जनसंख्या काम गर्न योग्य आयु समूह (१५–६४) को छ जसले पर्याप्त रोजगारी र नीतिगत सहयोग भएमा जनसांख्यिकीय लाभ दिन सक्छ ।
वृद्ध जनसंख्या (६५ र माथि) हाल ७ प्रतिशत छ, जुन आगामी दशकहरूमा जीवन प्रत्याशा बढ्दै जाँदा बढ्ने अपेक्षा छ । २०२५ सम्ममा जीवन प्रत्याशा पुरुषको लागि ७१ वर्ष र महिलाको लागि ७४ वर्ष अनुमान गरिएको छ ।
भारत अहिले विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश हो, जहाँ लगभग १ दशमलव ५ बिलियन जनसंख्या छ, जुन अहिलेबाट लगभग ४० वर्षमा घट्न शुरू हुनेछ । यो संख्या १ दशमलव ७ विलियन पुग्ने अनुमान प्रतिवेदनले गरेको छ ।
विश्व बैंकको प्रतिवेदन २०२० अनुसार १९६० मा जब भारतको जनसंख्या लगभग ४३६ मिलियन थियो, औसत महिलाले लगभग छ वटा सन्तान जन्माउँथे । त्यतिबेला, महिलाहरूसँग आफ्नो शरीर र जीवनमा आजभन्दा कम नियन्त्रण थियो । ४ मध्ये १ भन्दा कमले कुनै न कुनै गर्भनिरोधक प्रयोग गर्थे र २ मध्ये १ भन्दा कम प्राथमिक विद्यालयमा भर्ना भएका थिए । त्यसयताका दशकहरूमा शिक्षितको संख्या बढ्यो, प्रजनन स्वास्थ्य सेवामा पहुँच बढ्यो र धेरै महिलाहरूले आफ्नो जीवनलाई प्रभाव पार्ने निर्णयहरूमा आवाज उठाउन थाले । भारतको औसत महिलाले अहिले लगभग दुई सन्तान जन्माउँदै छन् ।
भारत र अन्य देशका महिलाहरूसँग आज आफ्ना आमा वा हजुरआमाभन्दा धेरै अधिकार र छनोट छन् तर उनीहरूले आफूले चाहेअनुसार सन्तान जन्माउन अझै धेरै गर्न बाँकी छ ।
संयुक्त राष्ट्रसंघ प्रतिवेदनले भारतलाई मध्यम–आय भएका देशहरूको समूहमा राखेको छ जहाँ छिटो जनसांख्यिकीय परिवर्तन भइरहेको छ, जहाँ जनसंख्या दोब्बर हुने समय अहिले ७९ वर्ष अनुमान गरिएको छ । ‘भारतले १९७० मा प्रतिमहिला लगभग पाँच सन्तानबाट अहिले लगभग दुईमा प्रजनन दर घटाउने महत्त्वपूर्ण प्रगति गरेको छ,’ यूएनएफपीए भारतका प्रतिनिधि एन्ड्रिया एम वोज्नरले भनिन् । ‘यसले मातृ मृत्युदरमा ठूलो कमी ल्याएको छ, जसको अर्थ आज लाखौं आमाहरू जीवित छन् । तर, राज्यहरू, जातिहरू र आय समूहहरू बीच गहिरो असमानताहरू कायम छन् ।
‘वास्तविक जनसांख्यिक लाभ तब आउँछ जब सबैलाई प्रजनन छनौट गर्ने स्वतन्त्रता र साधन हुन्छ । भारतसँग प्रजनन अधिकार र आर्थिक समृद्धि कसरी सँगै अगाडि बढ्न सक्छन् भन्ने देखाउने एक अद्वितीय अवसर छ,’ उनले भनिन् ।
(बिजनेस स्ट्यान्डर्डबाट)