काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २३ गतेदेखि अवितरित २ लाख २४ हजार ७२८ कित्ता हकप्रद शेयर लिलामीमा विक्री गर्न लागेको छ ।
कम्पनीले यसअघि वैशाख ३० देखि असार ३ गतेसम्म २७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री नभएको उक्त शेयर असार ३० गतेसम्म लिलामीमा विक्री गर्न लागेको हो ।
कुल कित्ता शेयरमध्ये ८० हजार २२२ कित्ता संस्थापकतर्फको रहेको छ भने १ लाख ४४ हजार ५०६ कित्ता सर्वसाधारणतर्फको रहेको छ ।
यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले संस्थापकतर्फको शेयरका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण तर्फको शेयर खरीदका लागि न्यूनतम १०० कित्ता माग गर्नुपर्नेछ । अधिकतम कित्ताका लागि भने कुनै सीमा तोकिएको छैन ।
प्रतिकित्ता १०० रुपैयाँ मूल्य तोकिएको लागि सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यी शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको आधारमा १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । अवितरित सम्पूर्ण कित्ता हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि भने कम्पनीको चुक्तापूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनमा ५ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न हकप्रद शेयर निष्कासन गरेको हो ।