सोमवार राति संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो नेकपा एमालेले एक सहमति गरी नयाँ सरकार बनाउने निर्णय गरेका छन् । एमालेको सहयोगमा बनेको वर्तमान सरकार अब अल्पमतमा पर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भने तत्काल राजीनामा नदिने बरु संसद्मा विश्वासको मत लिने माओवादी केन्द्रले बताएको छ । यसो गर्दा यो सरकारलाई केही समय लम्ब्याएर केही महत्त्वपूर्ण निर्णय गर्न सकिने ठम्याइ माओवादी केन्द्रको हुन सक्छ । जसले कांग्रेस र एमालेको गठबन्धनलाई अप्ठ्यारोमा पार्न सकिन्छ भन्ने ध्येय प्रधानमन्त्री दाहालको हुनसक्छ । प्रमुख दुई दलले संविधान संशोधन गर्नेगरी सहमति गरेका छन् । अहिलेकै संवैधानिक प्रावधान राखिराख्ने हो भने सरकार सधैं अस्थिर रहिरहने देखिएकाले संविधान संशोधन गर्न उनीहरू सहमत भएको बताएका छन् । तर, संविधान संशोधन गर्न जाँदा पान्डोरा बक्स खोलेझैं सबैतिरको माग आएमा कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती हुनसक्नेछ । बाहिर भनिएजस्तो भित्री सहमति नहुन सक्छ । अहिले नक्कली भुटानी शरणार्थी काण्ड र गिरिबन्धु टी इस्टेटको हदबन्दीभन्दा बढी जग्गा विक्री काण्ड गुपचुप गराउनमात्रै यस्तो समीकरण बनेको हो भनी कतिपयले भनेका छन् । त्यही कारणले यो गठबन्धन बनेको भए मुलुकका लागि यो थप विडम्बनाबाहेक केही हुँदैन ।
संविधान संशोधन गर्न आवश्यक भएको भनी सहमति भएको हो भने प्रमुख दलहरूले संविधानमा रहेको त्रुटिलाई आत्मसात् गरेका हुन् भन्ने प्रमाणित हुन्छ । यद्यपि यी दुई ठूला दल मिल्दैमा संविधान परिवर्तन होला भन्न सकिँदैन । संविधान संशोधन भनेको राजनीतिक सहमतिको दस्तावेज हो । तर, यसका लागि दुई तिहाइ बहुमत चाहिने मात्र होइन, सबैले अपनत्व लिऊन् भन्नका लागि राष्ट्रिय सहमति जरुरी हुन्छ । त्यसैले संसद्मा रहेका धेरैभन्दा धेरै सांसदलाई यसमा सहमत गराउन आवश्यक हुन्छ । संसदमा रहेको सबै दलको मागलाई आंशिकमात्रै सम्बोधन गर्न सके संविधानप्रति अपनत्वको भाव बढ्नेछ । चर्चामा आएअनुसार राजनीतिक स्थायित्वका लागि संसद्को संरचनामा परिवर्तनका लागि प्राथमिक सहमति भएको छ । समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै पनि दलले बहुमत ल्याउन नसक्ने अवस्था आएकाले त्यसको प्रावधानमा केही संशोधन गर्नु उपयुक्त हुन्छ । त्यस्तै उपराष्ट्रपतिलाई उपसभामुखको भूमिकामा लगाउनेलगायत विषय सकारात्मक छन् । यदि यी काम गर्न सके भने नयाँ समीकरणको अर्थ हुन्छ । अन्यथा एउटा प्रधानमन्त्रीको ठाउँमा अर्को प्रधानमन्त्री फेरिने कामबाहेक केही हुँदैन । सत्तास्वार्थका लागि मात्रै नयाँ समीकरण बनेको हो भने मुलुक झनै विकृतिका खाडलमा जाकिँदै जानेछ । होइन, साँचिकै परिवर्तनका लागि सहमति भएको हो भने त्यसको अर्थ विशेष रहन्छ ।
अहिले मुलुकको अर्थतन्त्र निकै कमजोर भएको छ । बारम्बार सरकार फेरिने, सरकार फेरिएपछि नीति पनि फेरिने गरेको छ । अझ राजनीतिक नियुक्ति भएका ठाउँमा त कार्यालयहरूको प्रमुखहरू नै फेरिने गरेका छन् । कुनै पनि दलले राम्रो मान्छे होइन, हाम्रो मान्छे मात्रै हेर्ने गरेका छन् । यस्ता तमाम विकृतिका कारण संघीयता घाँडो बनेको अनुभव धेरैले गरेका छन् । यसलाई रोक्न यी दल मिलेका हुन् भने राम्रो हो तर त्यसले परिणाम दिन पनि केही समय लाग्छ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा हुने नियुक्तिलगायत सानातिना विषयका लागि मात्रै यो सत्ता समीकरण फेरिएको हो भने त्यो गलत हो । नेपालको नयाँ संविधान बनेको धेरै भएको छैन तर यसका विभिन्न अड्मिल्दा प्रावधानका कारण बारम्बार समस्या आइरहेका छन् । संविधानका कमजोरी सुधार्ने र राजनीतिक स्थायित्व कायम गर्नेतर्फ नयाँ गठबन्धन लाग्यो भने त्यसले बिस्तारै सकारात्मक वातावरण बनाउने विश्वास गर्न सकिन्छ ।
तर, जसरी गठबन्धन बन्ने र भत्कने विगतको अनुभव छ त्यो हेर्दा अहिले नै केही भन्न सकिने अवस्था छैन । नयाँ सरकारको गठन कसरी हुने भन्नेमै विवाद शुरू भइसकेको छ । वर्तमान सरकारले बहुमत नपाएको अवस्थामा नयाँ सरकार गठन गर्न संविधानअनुसार संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सरकार बनाउन राष्ट्रपतिले आग्रह गर्नुपर्ने एकथरी विश्लेषकको भनाइ छ । त्यस्तो अवस्थामा नेकपा एमालेका केपी ओलीको सहजै सत्तारोहण हुन समस्या आउन सक्छ ।
मुख्य कुरा सहमतिकर्ता दलहरूबीच कतिसम्म विश्वास कायम रहन्छ भन्ने हो । यस्तो सहमति बन्ने र भत्कने अनि एक दलले अर्को दलमाथि बेइमानीको आरोप लगाउने प्रवृत्ति चलिआएकै हो । एक दलले अर्को दललाई धोका दिएको पनि साँचो हो । अहिले दाहालले ओलीमाथि धोका दिएको आरोप लगाएका छन् । यही आरोप ओलीले दाहाललाई लगाएका थिए । नेपाली कांग्रेसले पनि ओलीमाथि आरोप लगाएकै हो । वर्तमान प्रावधानका कारण कुनै पनि दलले बहुमत ल्याउन नसक्ने विश्लेषण कानूनविद् र राजनीतिकर्मीको रहेको छ । त्यसो हुँदा यसमा संशोधन आवश्यक भएको सही हो । सबैलाई विश्वासमा लिएर संविधान संशोधन गर्नुका साथै अर्थतन्त्रलाई बलियो बनाउन पनि काम भयो भने वर्तमान गठबन्धन भत्काउनुको अर्थ रहन्छ । अन्यथा यो सत्तारोहणको लोभलालचभन्दा बढी केही होइन भन्ने स्थापित हुनेछ ।