गतवर्ष साउनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाहिरबाट मोटरसाइकलको ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६० किलो सुन बरामद भए पनि सोही गिरोहले झन्डै ३२ अर्ब रुपैयाँ बराबरको सुन तस्करी गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यसरी तस्करी भएको सुन चोरीको बाटोबाट भारत जाने भएकाले त्यसले नेपालको अर्थतन्त्रमा गम्भीर असर पारिरहेको छ । एउटै समूहले यति धेरै परिमाणको सुन तस्करी गरेको फेला पर्दा अझै ठूलो परिमाणमा तस्करी भएको अनुमान सहजै लगाउन सकिन्छ । यसमा राजनीतिक शक्तिको संलग्नता र सहयोगसमेत हुँदा अपराधीले संरक्षणसमेत पाएका छन् । यो तस्करीको पूर्ण अनुसन्धान आवश्यक छ र दोषी देखिएकालाई कानूनी कारबाही गर्न निर्मम बन्नैपर्छ ।
सुन तस्करीमा आरोपित व्यक्तिसँग बयान लिँदा पनि राजनीतिक व्यक्तित्वलाई उन्मुक्ति दिन खोजेको देखिन्छ । बयान लिँदा सरकारी वकिल नगई सामान्य सोधपुछ गरेर कृष्ण महरालाई छाडिएको छ । सुन तस्करीमा मात्र होइन, अन्य भ्रष्टाचारका काण्डमा पनि मन्त्रीहरूलाई उन्मुक्ति दिएर कर्मचारीमाथि मात्रै मुद्दा दायर गरिएको छ । मन्त्रीको संलग्नताविना नहुने भ्रष्टाचारमा समेत मन्त्रीमाथि छानबिन नहुनु भ्रष्टाचारलाई थप बलियो बनाउनु हो । अहिले त्यस्तै भइरहेको पाइन्छ । तस्करीको सुनको मूल्य भुक्तानीका लागि पेवेल र सजिलो पेवालेट प्रयोग भएको छ ।
त्यसैले सरकारले विनाभेदभाव यसको सही र पूर्ण अनुसन्धान गर्न आवश्यक छ । यसलाई समयमा नै रोक्न सकिएन भने अनौपचारिक अर्थतन्त्रले औपचारिक अर्थतन्त्रलाई लडाउन बेर लाग्दैन ।
वालेट कम्पनीले विप्रेषण कम्पनीसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी विप्रेषण भित्त्याउन सक्ने र यसका लागि तोकिएको सीमा लागू नहुने प्रावधान छ । पेवेल र सजिलो पेले अस्ट्रेलियाबाट नेपालमा विप्रेषण पठाउन सेन्ड मनी नेपाल र नमस्ते विप्रेषण प्रयोग भएको उल्लेख गरे पनि दुवै कम्पनीले राष्ट्र बैंकबाट विप्रेषण कारोबारको स्वीकृति नलिएको र रकम हुन्डीबाट आएको तथा भुक्तानीका लागि वालेट प्रयोग भएको प्रहरीले बताएको छ । प्रविधिको प्रयोग बढे पनि त्यसको समेत दुरुपयोग भएको पाइन्छ ।
सुन तस्करीले अवैध अर्थतन्त्रलाई मलजल गर्छ । यसमा भुक्तानीका लागि हुन्डी प्रयोग गरिएको समेत प्रहरी अनुसन्धानले देखाएको छ । सरकारले पत्ता नलगाएका अन्य माध्यमबाट नेपालमा सुन तस्करी भइरहेको छ । नेपालको आन्तरिक बजारमा सुनको आपूर्ति नेपाल राष्ट्र बैंकले गर्छ । तर, उसले ल्याएको सुन व्यवसायीले नकिन्दा थुप्र्रिएर बसेको छ तर मन्दीकै समय भनिए पनि सुन व्यवसायीको व्यवसाय ठप्प भएको छैन । यसमा तस्करीको सुन प्रयोग भएको विश्लेषण पाइन्छ ।
भारतीय सीमावर्ती क्षेत्रमा सरकारले तोकेको विनिमय दरभन्दा सस्तोमा भारतीय रुपैयाँ सटही भइरहेको छ । यसको अर्थ भारतीय व्यापारीहरूले नेपाली रुपैयाँ खोजिरहेका छन् भन्ने हो । नेपालबाट भारत सुन तस्करी हुँदा त्यसको भुक्तानी नेपालीमा दिन नेपाली पैसाका माग सिमानामा बढी भएको हो ।
नेपालको अनौपचारिक अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादनको ३८ दशमलव ६ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ । गाडीबाहेक अन्य सबै सामान अवैध बाटोबाट नेपाल भित्रिन्छन् । त्यसको भुक्तानी औपचारिक माध्यमबाट हुँदैन । अहिले विप्रेषण ठूलो परिमाणमा भित्रिइरहेकाले विदेशी विनिमय सञ्चिति बढेर १४ महीनाको वस्तु आयात धान्न सक्ने अवस्थामा पुगेको छ । तर, उपभोग्य वस्तुको माग बढ्नेबित्तिकै आयात बढ्न थाल्छ र विदेशी विनिमय सञ्चितिमा दबाब पर्न थाल्छ ।