नेपाल तयारी पोशाक उद्योग संघले अमेरिकी सरकारको नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम (एनटीपीपी) को म्याद ५ वर्ष थप्ने पहल गर्न सरकारलाई अनुरोध गरेको छ । म्याद थपेर अमेरिकी बजारमा विनाभन्सार प्रवेश पाउने वस्तुको सूचीमा अन्य वस्तु पनि थप्न सके विकासशील मुलुकमा स्तरोन्नति भएपछि आउन सक्ने प्रतिकूल असरबाट जोगिन सकिने व्यवसायीको भनाइ छ । भन्सार शुल्क मिनाहा भए नेपाली उत्पादनले थोरै भए पनि अमेरिकी बजारमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले नेपालले यसका लागि पहल गर्नैपर्छ । नेपालमा विगतमा राम्रो निर्यात भएको तयारी पोशाकको अवस्था पुरानै लयमा ल्याउन त निकै कठिन छ तर थोरै मात्र बजार बढाउन सकियो भने पनि त्यसले अर्थतन्त्रमा सकारात्मक असर पार्ने छ ।
कुनै बेला १ हजारभन्दा बढी संख्यामा रहेका तयारी पोशाक उद्योग अहिले सयको हाराहारीमा छन् । तिनले गर्ने निर्यात पनि निकै कमजोर छ । विगतमा नेपालले तयारी पोशाकका कोटा सुविधा पाएको थियो । त्यसमा शून्य भन्सार लाग्थ्यो जसले गर्दा नेपाली तयारी पोशाक ठूलो परिमाणमा अमेरिका निर्यात भएको थियो । त्यस्तै यूरोपेली देशले पनि ‘इभ्री थिङ बट आम्र्स’ अर्थात् हातहतियारबाहेक सबै शीर्षकमा नेपाली उत्पादनलाई भन्सार सहुलियत दिएको थियो । त्यस्तो सुविधाले गर्दा नेपाली उत्पादनले त्यहाँ बजार पाएको थियो र टिक्न सकेको थियो ।
नेपाल विकासशीलमा स्तरोन्नति भएपछि अहिले पाइरहेका यस्तो भन्सारहित सुविधा कटौती हुन सक्छ । यद्यपि नेपालले केही वर्षका लागि ग्रेस अवधि पाइसकेको छ तर पनि यूरोप अमेरिकासँग भएका अन्य विभिन्न सम्झौताअन्तर्गत पाइरहेको सुविधाका लागि नेपालले थप पहल गर्नु आवश्यक देखिन्छ ।
अहिलेसम्म अमेरिकाले दिएको सुविधा नेपाली उद्योगी, व्यवसायीले किन लिन सकेनन् भन्ने अध्ययन गर्नु पनि निकै आवश्यक छ । तयारी पोशाकलाई पुनर्जीवन दिन सकिने सम्भावना अझै बाँकी रहेकाले सरकारको सहयोग र प्रोत्साहन जरुरी देखिन्छ ।
नेपालका ७७ वस्तुलाई विनाभन्सार आफ्नो मुलुकमा प्रवेश गर्ने सुविधा दिएको एनटीपीपी कार्यक्रमको म्याद २०२५ मा सकिँदै छ । भूकम्पबाट प्रभावित नेपालको अर्थतन्त्रलाई सहयोग गर्न अमेरिकाले १० वर्षका लागि यस्तो सुविधा दिएको थियो । यो कार्यक्रमको म्याद थप नभए नेपालले पाइरहेको सुविधा गुम्छ । यस्तोमा नेपाली उत्पादनले अन्य देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले सरकारले यो कार्यक्रमलाई निरन्तरता दिलाउन पहल गर्न आवश्यक छ ।
नेपालको निकासीमा कुनै बेला तयारी पोशाकको स्थान राम्रो थियो । तर, अहिले विभिन्न कारणले नेपाली उत्पादनले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेको छैन । अमेरिकाले भन्साररहित सुविधा दिए पनि नेपालले त्यसको लाभ लिन सकेको देखिँदैन । अमेरिकाले भन्साररहित सुविधा दिएपछि सिमरामा गार्मेन्ट प्रोसेसिङ जोन निर्माण गरिएको थियो तर त्यहाँ कुनै पनि उद्योग गएनन् । यो औद्योगिक क्षेत्र सञ्चालनका लागि आवश्यक पूर्वाधार नै तयार भएन । गार्मेन्टका सहयोगी उद्योगलाई स्थान नदिएपछि त्यहाँ गार्मेन्ट खोल्न नसकिएको उद्योगीको भनाइ छ । जेहोस् यो एनटीपीपीको सुविधाको ३ प्रतिशतमात्रै उपयोग हुन सक्यो ।
नेपालको गार्मेन्ट टिक्न नसक्नुमा महँगो ढुवानी, निर्यातमा बढी समय लाग्नु र आवश्यक कच्चा पदार्थ नेपालमा नपाइनु हो । त्यस्तै सरकारले तयारी पोशाकको निर्यातमा उपलब्ध गराउने अनुदान सहज नहुँदा पनि व्यवसायी उत्साहित बन्न सकेका छैनन् । अमेरिकामा नेपाली उत्पादनले भन्सार तिर्नुपर्यो भने अहिले चलिरहेका गार्मेन्ट पनि बन्द हुन सक्छन् । विगतमा सरकारले गल्ती गरेका कारण हजारभन्दा बढी उद्योग बन्द हुन पुगे । अब बाँकी रहेका उद्योगलाई बचाउन र थप उद्योग खोल्न प्रोत्साहन गर्ने गरी सरकारले काम गर्न आवश्यक देखिन्छ । साथै अहिलेसम्म अमेरिकाले दिएको सुविधा नेपाली उद्योगी, व्यवसायीले किन लिन सकेनन् भन्ने अध्ययन गर्नु पनि निकै आवश्यक छ । तयारी पोशाकलाई पुनर्जीवन दिन सकिने सम्भावना अझै बाँकी रहेकाले सरकारको सहयोग र प्रोत्साहन जरुरी देखिन्छ । यसो गर्दा स्वदेशमा रोजगारीका अवसर त सृजना हुन्छन् नै अर्कोतर्फ विदेशी मुद्रा आर्जनमा पनि उल्लेखनीय मद्दत पुग्छ । तर, यसका लागि समस्यामा गम्भीर हुँदै सरकारले उद्योगी, व्यवसायीसँग होस्टेमा हैंसे गर्नुपर्छ र समस्या समाधानका लागि सहयोगी भूमिका खेल्न सक्नुपर्छ ।