चितवन। उद्योग वाणिज्य संघ चितवनले नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेसँग व्यावसायिक विषयमा छलफल गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीले कर्जा उपलब्धता एवम् पुनर्तालिकीकरणमा सहजीकरणका लागि प्रस्ताव राखेका थिए । संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायी र बैंक एक अर्काका परिपूरक भएकाले व्यवसायी बाँचे मात्र बैंक बाँच्ने बताए । आर्थिक मन्दीको चपेटामा परेका व्यवसायीलाई बैंकले राहत दिनुपर्ने उनको आग्रह थियो ।
कार्यक्रमका प्रमुख कार्यकारी अधिकृत पाण्डेले भूकम्प र कोभिडले अर्थतन्त्र धराशयी बनाएको र बैंकका लगानी समेत अनुत्पादक क्षेत्र बढ्दा नगद प्रवाहमा संकट परेको बताए । उनले व्यवसायीलाई समस्या परे बैंक तथा वित्तीय संस्था पनि सुक्दै जाने भन्दै उनले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन व्यवसायीलाई आग्रह गरे ।
संघका पूर्वअध्यक्ष प्रचण्डलाल प्रधानले उद्यमी व्यवसायीको समस्यालाई आत्मसात् गर्दै बैंकले कार्य गर्नुपर्ने बताए । संघ पूर्वअध्यक्ष राजन गौतमले बैंकहरूले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।