व्यवसायको एक अभिन्न भाग हो, विज्ञापन । तर, हामीकहाँ यसलाई अनावश्यक खर्च तथा दानपात्रका रूपमा हेरिरहेका छौं । विज्ञापनप्रतिको कठोरताले हामी थाहा नपाईकन धेरै चिज गुमाइरहेका छौं । यो गुमाउनुको पछाडि हाम्रो ज्ञान, क्षमता, भोगाइ र पूर्वाग्रहले काम गरिरहेको छ ।
निजी, व्यावसायिक संघ, संगठन, उद्योग व्यवसाय, प्रतिष्ठानमा पनि विज्ञापनको खर्चलाई अन्यत्र खर्चिने र लेखापरीक्षण गर्दा अन्य विषयसमेत विज्ञापन शीर्षकमा पार्ने प्रपञ्च भइरहेको छ ।
जीवनको कुनै कालखण्डमा कुनै डिजाइनर, मिडिया, पत्रकार र एजेन्सीसँग भएको खटपटलाई जोडेर हामी विज्ञापनप्रति कतै अनुदार भइरहेका त छैनौं ? विज्ञापनले साँच्चीकै व्यवसायको खर्च बढाएको मात्रै छ वा योगदान पनि गरेको छ त ?
व्यवसाय मात्र होइन, सरकारी नीतिनियम ऐन, कानून, कार्यविधि, अवधारणा, सन्धि र सम्झौताजस्ता सार्वजनिक सरोकारका विषयमा पनि जनता सुसूचित गर्न विज्ञापन गर्न जरुरी छ ।
कानूनको अज्ञानता क्षम्य हुँदैन तर ७० प्रतिशत साक्षर रहेको मुलुकमा जनचेतनाका लागि जनताले बुझ्ने र थाहा पाउने भाषामा श्रव्य, दृश्य, चित्र, ध्वनि आदिमार्फत विज्ञापन गर्न वाञ्छनीय हुन्छ । ‘धमिलो पानीमा माछा मार्न’ सजिलो बनाउने वातावरण नै विज्ञापनप्रतिको अनुदारताले ल्याएको हो । यसमा सरकारी उच्च पदस्थ कर्मचारी र नीतिनिर्माताको भूमिका अहम् छ । यसमा उनीहरूको स्पष्टीकरण र कुर्तक जे जसरी आउला तर सत्य के हो भने सूचना र जानकारी सञ्चारप्रति अनुदार बन्नु अन्य माध्यम रोज्नु गलत हुन सक्छ ।
निजी, व्यावसायिक संघ, संगठन, उद्योग व्यवसाय, प्रतिष्ठानमा विज्ञापनको खर्चलाई अन्यत्र खर्चिने र लेखापरीक्षण गर्दा अन्य विषयसमेत विज्ञापन शीर्षकमा पार्ने प्रपञ्च भइरहेको छ ।
विज्ञापन मिडियाको अधिकार हो भन्नेहरू यो विषयमा जानकार हुन आवश्यक छ । साथै व्यावसायिक तथा पेशागत नैतिकता राखेका लेखापरीक्षकहरू समेत सचेत रहन जरुरी छ ।
शीर्षक तोडमोड गर्दा हुने अनियमितता तथा करछली पनि बुझ्नु जरुरी छ । उपभोक्ताको सुसूचित हुने, सेवा र वस्तुका बारेमा जानकारी पाउने अधिकारसमेत कुण्ठित भइरहेको छ ।
जनतामा उचित सूचना, विज्ञापनमार्फत समयमा सही तरीकाबाट नपुग्दा विकास निर्माणमा जनताबाट हुने खबरदारी कम हुन्छ । यो कमीले काम गुणस्तर हँुदैन । सेवा प्रभावकारी हुँदैन, केवल कर्मकाण्डी हुन्छ भने अर्कोतर्फ जनता जागरुक हुनबाट वञ्चित हुन्छन् ।
विज्ञापन माग्ने कष्ट नगर्नु होला भन्नेहरू नै हामीले सामान बनायौं, कसरी बजारमा जाने होला सल्लाह दिनुहोस् न, के कति पैसा लाग्छ, जसरी पनि बजार बढाउनु पर्यो भन्दै एजेन्सीमा जान्छन् । हामीलाई सामान बनाउन आउँछ तर बेच्न आउँदैन तपाईंहरू तरीका पत्ता लगाउनुहोस्, हामी खर्च गर्छौं भन्नेहरू पनि बजारमा धेरै भेटिन्छन् ।
विज्ञापनप्रति अनुदार बन्ने र व्यर्थको खर्च मान्नेहरू आफूलाई एकपटक पुनर्विचार गनुर्होस्, के तपार्इंले लिएको निर्णय ठीक छ ? कालान्तरमा यसले फाइदा गर्ला ?
हामी किन विज्ञापनप्रति अनुदार तथा नकारात्मक हुन्छौं त ? यसका कारण अनेकन् छन् । तीमध्ये केही कारण सान्दर्भिक पनि छन् । भ्रामक प्रचार, अनावश्यक दावा आदि कारणले पनि विज्ञापनप्रति अनुदार बनाएको छ । विज्ञापन अनिवार्य कुरा हो वा होइन अलग कुरा हो । तर, आवश्यकता बढ्दो छ । विज्ञापनकर्मीहरूले आफूलाई समयअनुकूल बनाउनुपर्छ । क्षमता, शीप, प्रविधिप्रति सजग हुँदै विज्ञापनकर्ताको मागलाई पूरा गर्न सक्नुपर्छ ।
विज्ञापन अन्य वस्तु र सेवालाई पराजित गर्न विस्थापित गर्न वा हराउन गरिने होइन । सामान्यतया हामीलाई विज्ञापनले जित्न सहयोग गर्छ भन्ने लाग्छ । तर, विज्ञापन जित्नका लागि नभई वस्तु परिचय, प्रस्तुति, प्रयोग विधि, मूल्य, आकार, गुणस्तर परिवर्तन तथा ब्रान्डिङ आदिका लागि गरिन्छ । उपभोक्ताको भ्रम चिर्न आफ्नो उपस्थिति देखाउन विज्ञापन गरिन्छन् ।
विज्ञापनप्रतिको अनुदारताका कारणहरूमा मनोवैज्ञानिक, आर्थिक र सामाजिक रहेका छन् । लगातार दैवी विपत्ति, प्रकोप, महामारी भोग्दै आएको व्यापारिक समुदायलाई विज्ञापन नै खर्च घटाउने पहिलो खुड्किलो लाग्न सक्छ यसमा विवाद र समस्या आउँदैन । विज्ञापनप्रतिको व्यवसायीका धारणा तथा मनोविज्ञानले विज्ञापनप्रतिको अनुदारता झल्काउँछ । आर्थिक पक्ष पनि एउटा कारक हो, जसमा उद्योग व्यवसाय र प्रतिष्ठानलाई खर्च व्यवस्थापन गर्न कठिन छ । ठूलो समूह सञ्चालन खर्चले पिरोलेको छ । तसर्थ विज्ञापन खर्च कटौती उनीहरूका लागि समाधान बन्न सक्छ ।
विज्ञापन एजेन्सीको सक्रियता र सजगताको कमी पनि कारण हो । सञ्चारको दुनियाँमा भइरहेको दिनानुदिनको परिवर्तनले विज्ञापनकर्ताहरू बढी जानकार र सचेत भएकाले विज्ञापन सर्जक तथा एजेन्सीबाट नयाँनयाँ सामग्री तथा थप सृनात्मकता माग गर्नु र अपेक्षा गर्नु अन्यथा होइन ।
विज्ञापनप्रतिको विज्ञापनदाताको अनुदारतालाई अन्यथा मान्नु हुँदैन । विज्ञापन एजेन्सी, विज्ञापनकर्मी तथा विज्ञापन सर्जकहरूबाट विज्ञापनदाताहरूसँग घनीभूत समन्वय सञ्चार, वार्तालाप, छलफल, विमर्श र सहकार्यको अभाव छ । यस विषयमा एजेन्सीहरू स्वयम् सचेत बन्नुपर्छ । आफ्नो पेशाव्यवसायको आवश्यकता, महत्त्व, जानकारी, फाइदा, बेफाइदा, प्रभाव र असरका बारेमा आम विज्ञापनकर्तामा जागरुकता ल्याउन विज्ञापन एजेन्सीहरू चुकेको देखिन्छ । विज्ञापन एजेन्सीहरूले आफ्नो पेशा, व्यवसायको महत्त्व बुझाउनु, चिनाउनु र दर्शाउनु जरुरी छ ।
सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा, बजेट ल्याउँदा विज्ञापनका विषयमा समेटिएको छ वा छैन बुझ्नु जरुरी छ । सरकारको बजेटभित्र ब्रान्डिङका कुराहरूलाई उठाएको छ । यो विषयमा विज्ञापन व्यवसायीले सरकारलाई घचघच्याउनुपर्छ । सरकारको नीति तथा कार्यक्रम बजेटको कार्यान्वयनका लागि जनचेतना कति आवश्यक छ यो विषयमा सरकार, सरकारका प्रतिनिधि र उच्च पदस्थ कर्मचारीलाई बुझाउन जरुरी छ ।
नेपालले डब्ल्यूटीओको सदस्यता लिएसँगै विश्वबजारमा आफू तथा आफ्नो वस्तु वा सेवालाई परिचित गराउन तथा प्रतिस्पर्धी बन्न विज्ञापन र प्रवर्द्धन जरुरी छ । नेपाली उत्पादनलाई विदेशमा प्रवर्द्धन गर्न सरकारले ‘मेक इन नेपाल’ स्वदेशी अभियानलाई सफल बनाउन विज्ञापन खर्चमा कर छूट वा अन्य कुनै सहुलियत दिन आवश्यक छ ।
विज्ञापन तथा प्रवर्द्धनले नै नेपाली उत्पादनलाई विश्वमा चिनाउने हो, यो विषयमा विज्ञापन एजेन्सी तथा वस्तु उत्पादकहरू एैक्यबद्धता हुनपर्छ ।
विज्ञापनप्रतिको सरकारी तथा निजीक्षेत्रको अनुदारताले सरकारले ल्याएका योजना, नीति कार्यक्रमका बारेमा जनमानसमा भ्रम सृजना गर्न सहयोग मिलेको छ । विगतमा सरकारले ल्याएको मिलिनियम च्यालेन्ज कर्पोरेशन, कोरोना खोप अभियान कार्यक्रम ल्याउँदै गर्दा तिनका बारेमा जनतामा सचेतना दिन विज्ञापन गर्न आवश्यक थियो । सरकारले यसका लागि सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, तालीम आयोजना गर्छ तर यो भन्दा बढी प्रभावकारी विज्ञापन हुन्छ भन्नेमा सरकारको ध्यान गएको छैन ।
सचेतना कार्यक्रम गर्दा लागत परिणाम विश्लेषण जरुरी हुन्छ । विज्ञापनको माध्यम अपनाउँदा बढी लाभदायी हुन्छ । तर, यसमा विज्ञापन सामग्रीको सन्देश प्रवाह विधि, तरीका, प्रस्तुतीकरण, सञ्चारमाध्यमको छनोट, सञ्चार माध्यमको पहुँचमा ध्यान पुर्याउनुपर्छ ।
विज्ञापनप्रतिको अनुदार नीतिले सरकारका कार्यक्रम सफल बनाउन कठिन हुन्छ । राष्ट्रिय महत्त्वका आयोजनाहरू पूरा गर्न र सफल बनाउन विज्ञापन प्रवर्द्धनको अहम् भूमिका छ । यसका लागि प्रभावकारी तथा परिणाममुखी सन्देश निर्माणका लागि विज्ञापन एजेन्सी पनि सजग भई दक्षता र क्षमता अभिवृद्धि गर्नुपर्छ । विज्ञापन एजेन्सीले पनि लागत र परिणाम विश्लेषणको सिद्धान्तअनुसार विज्ञापनदातालाई समेत आश्वस्त गराउनुपर्छ । विज्ञापनदाता, विज्ञापन एजेन्सी, सर्जक, विज्ञापनकर्मीहरूका बीच समन्वय र सहकार्यमा सञ्चारको अहम् भूमिका छ । विज्ञापनप्रति अनुदार तथा कठोर रहेका सरकारी निकाय, उद्योग, व्यवसाय तथा प्रतिष्ठानलाई आश्वस्त गराउन र विज्ञापनलाई परिणाममुखी बनाउन सकेमा विज्ञापनप्रति विज्ञापनदाताको आकर्षण बढाउन सकिन्छ ।
लेखक नेपाल विज्ञापन संघका कार्यकारी निर्देशक हुन् ।