त्यो सुनौला दिन आजै हो । विश्व बौद्धिक सम्पत्ति संगठन स्थापना भएको दिन २६ अप्रिललाई विश्व बौद्धिक सम्पत्ति दिवस विश्वका करीब २ सय मुलुकमा विश्व बौद्धिक सम्पत्ति दिवसका रूपमा धुमधामसँग विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ र मनाइँदै छ । यो वर्षको उक्त संगठनको नारा ‘बौद्धिक सम्पत्ति र दिगो विकास– नवप्रवर्तन र सृजनाद्वारा हाम्रो साझा भविष्य निर्माण गरौं’ रहेकोे छ । यस नारामा मूलत: चार पद महत्त्वपूर्ण छन्– बौद्धिक सम्पत्ति, दिगो विकास, नवप्रवर्तन तथा सृजना र हाम्रो साझा भविष्य । यी पदको पहिले विश्लेषण र पछि संश्लेषण गरेर उक्त नारालाई पुष्टि गर्न सकिन्छ ।
बौद्धिक सम्पत्ति
एकाइसौं शताब्दी ज्ञानमा आधारित अर्थतन्त्रको युग हो । बौद्धिक सम्पत्ति मानवीय चिन्तनबाट उद्भव भएको कुनै नवीनतम ज्ञान वा सृजना हो । मानवीय चिन्तनबाट मौलिक रूपले प्रस्फुटित विचार र अभिव्यक्तिहरू पनि बौद्धिक सम्पत्ति हुन् । ज्ञान यसै पनि महत्त्वपूर्ण हुन्छ । नवीन ज्ञान भयो भने त्यसको उपयोग गरेर उत्पादन गरिएको वस्तु वा सेवाले बजारलाई र उपभोक्तालाई कति आकर्षण गर्छ, गर्छ । त्यसैले बौद्धिक सम्पत्ति विश्वमा आर्थिक र सामाजिक विकासको कायापलट गर्नमा योगदान पुर्याउने नवीन ज्ञानको भण्डार हो ।
बौद्धिक सम्पत्तिका धेरै स्वरूप छन्– पेटेन्ट, प्रतिलिपि अधिकार, सम्बद्ध अधिकार, औद्योगिक डिजाइन, ट्रेडमार्क, भौगोलिक संकेत, व्यावसायिक गोपनीयता, एकीकृत सर्किट डिजाइन, उपयोगी नमूना र बोटबिरुवाका नयाँ जात । यति १० ओटालाई सबैजसो मुलुकमा बौद्धिक सम्पत्ति कानूनअनुसार यिनलाई निश्चित अवधिका लागि संरक्षण गरिन्छ । संरक्षण भनेको सार्वजनिक जीवनमा अरूले चलन गर्नै नपाउने भनेको होइन । केवल त्यो बौद्धिक सम्पत्तिलाई उद्योग, व्यवसाय र व्यापारमा अर्थात् अर्थोपार्जनमा प्रयोग गर्दा सम्बद्ध धनीको पूर्वस्वीकृति लिनुपर्छ भनेको हो । कसैले स्वीकृति लिएर वस्तु उत्पादन गरी बजारमा पठाइसकेपछि बजार सञ्जालका व्यापारी र उपभोक्तालाई त्यसको आवश्यक पर्ने पनि होइन । तोकिएको सीमित अवधिपछि सबै खाले बौद्धिक सम्पत्ति सबैको निर्बाध पहुँच भएको साझा ज्ञानको भण्डार वा सामाजिक पूँजी हुन पुग्छन् ।
कुनै व्यवसायीले आकर्षक डिजाइनमा वस्तु उत्पादन गर्नु, समूह चिह्न प्रयोग गरी कुनै समुदायले उत्पादन गरेको वस्तुको प्रवर्द्धन गर्नु, नयाँ फर्मुला खोजतलास गरी औषधि उत्पादन गर्नु, मीठो स्वाद र धेरै उत्पादन हुने सुन्तलाको जातको विकास र उत्पादन वितरण गर्नु, यी सबै नवप्रवर्तनका उदाहरण हुन् ।
बौद्धिक सम्पत्ति अझै धेरै थरीका छन् । तर, तिनलाई राज्यले बौद्धिक सम्पत्ति संरक्षण कानूनअनुसार संरक्षणको व्यवस्था गरेको हुँदैन र व्यक्तिको अधिकारमा पनि हुँदैनन् । तर, ती उत्तिकै महत्त्वका हुन्छन् र मुलुक विशेषका राष्ट्रिय नीति र स्थानीय कानूनअनुसार भने संरक्षित गरिएका हुन्छन् । जस्तै– अस्वस्थ प्रतिस्पर्धा निवारण, प्रविधि हस्तान्तरण, परम्परागत ज्ञान, जैविक विविधता र तीमाथिको अधिकार, परम्परागत सांस्कृतिक तथा जनबोलीको अधिकार आदि ।
खास गरी पहिलो श्रेणीका बौद्धिक सम्पत्ति ज्ञानको नवीनतम स्वरूप भएकाले र यसको सृजना गर्दा श्रष्टा वा आविष्कारक वा सर्जकले उक्त १० मध्ये जुनसुकै बौद्धिक सम्पत्ति भए पनि प्रशस्त मेहनत, स्रोत, साधन र समय खर्चनुपर्ने हुँदा उनीहरूलाई प्रोत्साहन गर्न राज्यले उनीहरूको कृति वा रचना वा आविष्कारमाथि केही वर्षका लागि अधिकार दिएर संरक्षित र सम्पोषित गर्छ । यस व्यवस्थाले प्रतिभाहरूको हौसला जगाउँछ, तिनका बौद्धिक सम्पत्तिलाई उद्योग व्यापारमा प्रयोग गर्दा उत्पादकत्व बढ्छ, विकास र समृद्धिले गति लिन्छ र राज्य र समाजको उत्थान हुन्छ ।
यदि हामी उद्यमी, व्यापारी, शिक्षक, प्राध्यापक, डक्टर, लेखक, पत्रकार, इन्जिनीयर, साहित्यकार, कवि, कलाकार, गीतकार, गायक, नर्तकी, नाटककार, चित्रकार, व्यापारी, कृषक, प्रकाशकजस्ता कुनै पेशागत क्षेत्रको व्यक्तिभित्र पर्छाैं भने हामी कुनै न कुनै बौद्धिक सम्पत्तिका मालिक पनि हुन सक्छौं । होइन भने पनि वस्तु र सेवाको उपभोक्ता नभएको कोही हँदैन । ती वस्तु र सेवा कुनै न कुनै बौद्धिक सम्पत्तिका प्रतिफल हुन् । त्यसैले सबैका लागि बौद्धिक सम्पत्तिको ज्ञान अपरिहार्य छ । खाँदा, पढ्दा, लेख्दा, काम गर्दा, यात्रा गर्दा स्कूल जाँदा, जुनसुकै बेला हामी बौद्धिक सम्पत्तिकै प्रतिफल उपयोग गर्छौं । दिगो विकासका लागि आवश्यक पर्ने वस्तु, सेवा र प्रविधि पनि बौद्धिक सम्पत्तिकै प्रतिफल हुन् भन्ने कुरामा हामी सबै सजग भएमा दिगो विकासका लक्ष्य प्राप्त गर्न सम्भव हुन्छ ।
दिगो विकासका लक्ष्य
विश्वमा शान्ति र समुन्नति कायम राख्ने उद्देश्यले २०१५ मा संयुक्त राष्ट्रसंघले दिगो विकासका १७ लक्ष्य पारित गरेको छ । तिनलाई दिगो विकासका लक्ष्य भनिन्छ । तिनले विश्वभ्रातृत्व र मानवतालाई केन्द्रमा राखेर वातावरणीय, सामाजिक र आर्थिक पक्षहरूकोे पारस्परिक रूपमा निकटतम, प्रत्यक्ष तथा घनिष्ट सम्बन्ध अभिव्यक्त गरेका हुन् । ती लक्ष्यमा, शून्य गरीबी, सबैका लागि गाँस, सबैका लागि स्वास्थ्य सुव्यवस्था, स्तरीय शिक्षा, लैङ्गिक समानता, सफा पानी र सरसफाइ, स्वच्छ र सुलभ इन्धन, मर्यादित काम, आर्थिक वृद्धि, नवप्रवर्तन र पूर्वाधार, न्यूनीकृत असमानता, दिगो बसोवास भएका गाउँ र शहर, उत्तरदायी उत्पादन र खपत, वातावरणीय अवस्था सुधार, जलचरको सुरक्षा, थलचरको सुरक्षा, शान्ति न्याय र संस्थागत दक्षता, लक्ष्यप्राप्तिका लागि सहकार्य आदि पर्छन् ।
प्रत्येक लक्ष्यको विषयमा छुट्टाछुट्टै चर्चा गर्नु यस लेखको उद्देश्यबाहिरको कुरा हो । एकातिर लक्ष्यहरू बढी महत्त्वाकांक्षी छन् भने अर्काेतिर, कोभिडजस्ता अप्रत्याशित विप्त्तिको सामना गर्नु परेको, सम्पन्न र विपन्न व्यक्ति तथा राष्ट्रबीच बढ्दो असमानता, जलवायुको परिवर्तन तथा ह्रास, जैविक विविधताको ह्रासजस्ता समस्याले ठूलो चुनौती थपेका छन् । तैपनि २०३० सम्म अधिकांश लक्ष्य पूरा हुने अपेक्षा गरिएको छ । लक्ष्यलाई साकार पार्ने मुख्य उपाय विश्वमा उक्त लक्ष्यहरूको पूर्तिद्वारा व्यापक आर्थिक र सामाजिक परिवर्तन ल्याउनु हो । त्यसका लागि उत्पादन प्रणलीमा व्यापक रूपमा प्रविधिको प्रयोग गर्नुपर्छ । त्यो गर्न प्रविधिको विकास गर्नुपर्छ । प्रविधिको विकास र सुधारका लागि बौद्धिक सम्पत्ति सृजना, संरक्षण र प्रयोगको खाँचो पर्छ, बौद्धिक सम्पत्ति सृजना गर्न नवप्रवर्तन र सृजनशीलताको खाँचो पर्छ । यसरी नवप्रवर्तनमा सबैले उचित ढंगबाट काम गरेपछि बल्ल दिगो विकासका १७ लक्ष्य पूरा हुन्छन् र हाम्रो साझा भविष्य निर्माण हुन्छ ।
नवप्रवर्तन र सृजनशीलता
नवप्रवर्तन र सृजनशीलता बौद्धिक सम्पत्तिका महत्त्वपूर्ण आयाम हुन् । ज्ञानको उपयोग गरेर कुनै नयाँ तरीका, विचार र वस्तु जन्माउनु र व्यवहारमा उतार्नु नवप्रवर्तन हो भने कुनै ज्ञान वा बौद्धिक सम्पत्ति जन्माउन वा उजागर गर्न कसैले आफ्नो तार्किक क्षमता र स्वतन्त्र मौलिक विचारको प्रयोग गर्ने काम वा क्षमता सृजनशीलता हो । सृजनशील व्यक्तिले नवप्रवर्तन गर्न सक्छ र नवप्रवर्तनकारी व्यक्तिमा पर्याप्त सृजनशीलता हुन्छ । त्यसैले यी दुवैमा चल्ला र फूलको जस्तो सम्बन्ध छ । दुवै एकै प्रकृतिका भए पनि प्रसंग र अवस्थाले मात्र फरक छन् ।
नवप्रवर्तन मान्छेले भोगेका कुनै समस्यालाई समाधानमा रूपान्तरित गरिदिने प्रक्रिया पनि हो । कुनै समस्याको प्राविधिक समाधान पत्ता लगाउनु आविष्कार हो भने आविष्कारलाई मानव जीवनोपयोगी हुनेगरी व्यवहारमा उतार्नु नवप्रवर्तन हो । नवप्रवर्तन आविष्कारमा मात्र हैन, जुनसुकै बौद्धिक सम्पत्तिको सृजना गर्ने मात्र होइन, त्यसलाई व्यवहारमा उतारी मानव जीवनमा सुधार ल्याउने प्रक्रिया पनि हो । कुनै व्यवसायीले आकर्षक डिजाइनमा वस्तु उत्पादन गर्नु, समूह चिह्न प्रयोग गरी कुनै समुदायले उत्पादन गरेको वस्तुको प्रवर्द्धन गर्नु, नयाँ फर्मुला खोज तलास गरी औषधी उत्पादन गर्नु, मीठो स्वाद र धेरै उत्पादन हुने सुन्तलाको जातको विकास र उत्पादन वितरण गर्नु, यी सबै नवप्रवर्तनका उदाहरण हुन् ।
बौद्धिक सम्पत्तिका धेरै स्वरूप छन्– पेटेन्ट, प्रतिलिपि अधिकार, सम्बद्ध अधिकार, औद्योगिक डिजाइन, ट्रेडमार्क, भौगोलिक संकेत, व्यावसायिक गोपनीयता, एकीकृत सर्किट डिजाइन, उपयोगी नमूना र बोटबिरुवाका नयाँ जात । यति १० ओटालाई सबैजसो मुलुकमा बौद्धिक सम्पत्ति कानूनअनुसार निश्चित अवधिका लागि संरक्षण गरिन्छ ।
सृजनशील र नवप्रवर्तनकारी व्यक्तिको उदाहरणका लागि रामलक्ष्मण रिमाल दाजुभाइ, महावीर पुन र झलक थापाको उदाहरण लिऊँ । रामलक्ष्मणले प्रविधिको विकासका लागि टेक्नोलोजी सेन्टर कार्यशाला सञ्चालन गरेर नयाँनयाँ उपकरणहरूको आविष्कार गरेका छन् । करीब एक दर्जन पेटेन्ट उद्योग विभागबाट स्वीकृत गराइसकेका छन् र आफ्नै कार्यशालामा सफल उत्पादन गरी पेटेन्ट गरेका सामुदायिक सुरक्षा उपकरण सायरन सिस्टम र भोटिङ मेशिनको व्यापारीकरण भइसकेको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले ग्रामीण इलाकामा साना व्यवसाय प्रवर्द्धनमा आईटीको सफल उपयोग गरेर म्यागासेसे अन्तरराष्ट्रिय पुरस्कारको साथै विज्ञान र प्रविधिको अनुसन्धान कार्यमा कैयौं उदाहरण प्रस्तुत गरेर धेरै राष्ट्रिय स्तरका पुरस्कार र विभूषण प्राप्त गरेका छन् ।
त्यस्तै पोखराका झलक थापाको डाँडाघरे वाइनरीले नेपाली फलफूल र जडीबुटीमा आधारित वाइनलाई आँगन, मझेरी, अाँटी, पिँडीजस्ता ठेट नेपाली शब्दहरूको ट्रेडमार्कबाट ब्रान्डिङ गरी पोखराकै पर्यटकीय प्रवर्द्धन गरेका छन् र जापानमा समेत निर्यात गरेका छन् । यी तीनै प्रतिभाका काम पनि नवप्रवर्तन र सृजनशीलताकै नमूना हुन् । नेपालमा यस्ता दर्जनौं सफल प्रतिभा छन्, सबैको नाम यहाँ उल्लेख गर्न सम्भव छैन । मुलुकमा बौद्धिक सम्पत्तिको प्रवर्द्धनसम्बन्धी कुनै पनि सुविधा नभएका बेला आफ्नै विवेक र मेहनतबाट आफ्नो प्रतिभा उजागर गरेर तथा नवप्रवर्तनका उदाहरणीय काम गरेर उनीहरूले देश र समाजलाई ठूलो गुन लगाएका छन् ।
व्यावहारिक प्रचलनमा बौद्धिक सम्पत्तिमध्ये विभिन्न नौला औद्योगिक सम्पत्तिको सृजना गर्ने वा तिनलाई व्यवहारमा उतार्ने कामलाई बढी नवप्रवर्तन शब्द र प्रतिलिपि अधिकारको सृजना र उपयोग गर्ने कामलाई नवप्रवर्तन भन्ने चलन छ । जे होस् कुनै पनि बौद्धिक सम्पत्तिको सृजना र उपयोगमा नवप्रवर्तन र सृजनशीलताकै भूमिका रहन्छ भन्ने कुरामा दुईमत छैन ।
हाम्रो साझा भविष्य
यो विश्व ब्रह्माण्डको सृष्टि सबै जैविक सदस्यहरूको पारस्परिकताको आधारमा सञ्चालित छ । कुनै एकको समग्र प्रणलीकै सन्तुलन बिग्रिन्छ र सबै सदस्यको अस्तित्व चुनौतीपूर्ण हुन्छ । हाम्रो साझा भविष्यमा हामी मानव जाति मात्र होइन जलचर, थलचर, नभचर सबै समेटिनुपर्यो, सबैका लागि गाँस र सबैका लागि वास हुनुपर्यो, सबैको वंशको सुरक्षा हुनुपर्यो, सबै मैत्रीपूर्ण भावले रहनुपर्यो । हाम्रा उपनिषद्ले भनेको ‘सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:खभाग्भवेत्’ पनि यही साझा भविष्यको उद्घोष हो । बुद्धको– भवतु सर्व मङ्गलम् वाणीको तात्पर्य पनि त्यही हो । आईएलओले ‘कुनै ठाउँको विपन्नता सबै ठाउँको सम्पन्नतामा खतराको घण्टी हो’ भनेको तत्पर्य पनि यही हो र संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य पनि यही हो । साझा भविष्य भनेको सबैको साझा अस्तित्व हो । यस्तो भविष्य प्राप्तिको लागि बौद्धिक सम्पत्ति नै सबैभन्दा बढी उपयोगी उपकरण सिद्ध हुन्छ ।
बौद्धिक सम्पत्तिको सृजना र उपयोगमा नवप्रवर्तन र सृजनशीलताकै भूमिका रहने भएकाले अबको हाम्रो प्रयास भनेको बौद्धिक सम्पत्तिका लागि अनुकूल वातावरण सृजना गर्न स्तरीय बौद्धिक सम्पत्ति कानूनको निर्माण गर्ने, राष्ट्रिय बौद्धिक सम्पत्ति कार्यालय र बौद्धिक सम्पत्ति प्रशिक्षण केन्द्र खडा गर्ने, बौद्धिक सम्पत्ति सूचना केन्द्रहरू स्थापित गर्ने, जनशक्ति विकास तथा जनचेतना अभिवृद्धि गर्ने, बौद्धिक सम्पत्ति सृजनाका लागि प्रोत्साहन कार्यक्रम गर्ने, निजीक्षेत्र तथा सामाजिक अनुसन्धानमूलक र शैक्षिक संस्थालाई पनि बौद्धिक सम्पत्तिको सृजनातर्फ उत्प्रेरणा जगाउने खालका कार्यक्रमहरू सञ्चालन गर्दै जानुपर्ने देखिन्छ ।
लेखक बौद्धिक सम्पत्ति संरक्षण समाजका उपाध्यक्ष हुन् ।