काठमाडौं । नेप्सेमा सूचीकृत १५ वित्त कम्पनीहरुले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार आठ कम्पनी तेस्रो त्रैमाससम्ममा नोक्सानीमा रहेका छन् भने सात कम्पनी भने नाफामा रहन सफल भएका छन ।
पोखरा फाइनान्स, जानकी फाइनानस,गुडवील फाइनान्स,समृद्धि फाइनान्स,सेन्ट्रल फाइनान्स,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स, प्रोग्रेशिभ फाइनान्स र रिलायन्स फाइनान्स नोक्सानीमा रहेका हुन । यी कम्पनीहरुमध्ये सबैभन्दा बढी पोखरा फाइनान्स चालू आवको तेस्रो त्रैमाससम्ममा रू.१७ करोड २३ लाख नोक्सानीमा रहेको छ ।
गत आवको तेस्रो त्रैमाससम्ममा भने यस कम्पनीले रू. ३ करोड ५७ लाख नाफा कमाएको थियो । चालू आवमा यस कम्पनीको खराब कर्जा वृद्धि बढेको छ आम्दानीको थुप्रै रकम प्रोभिजन गर्दा नोक्सानीमा देखिएको हो । यस कम्पनीको निष्क्रिय कर्जा गत आवमा ४ दशलमव ८२ प्रतिशत रहेकोमा चालू आवमा बढेर ७ दशमलव ९१ प्रतिशत पुगेको हो ।
त्यस्तै जानकी फाइनान्स चालू आवमा रू. १० करोड ८६ लाख नोक्सानीमा रहेको छ । गत आवमा भने यस कम्पनी रू. १ करोड ५३ लाख नाफा कमाएको थियो । यस कम्पनीको निष्क्रिय कर्जा २८ दशमलव ९१ प्रतिशत पुगेको छ ।
चालू आवमा मञ्जुश्री फाइनान्स,गोर्खाज फाइनान्स,आइसीएफसी फाइनान्स,श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स,मल्टी पर्पस फाइनान्स,वेष्ट फाइनानस र नेपाल फाइनान्स नाफामा रहेका हुन ।
सबैभन्दा बढी मञ्जुश्री फाइनान्सले रू.१६ करोड ६३ लाख नाफा कमाएको छ । गत आवको तुलनामा भने यस कम्पनीको नाफा ३ दशमलव १४ प्रतिशत घटेको छ । सो अवधिमा कम्पनीले रू. १७ करोड १७ लाख नाफा कमाएको थियो । त्यस्तै दोस्रोमा गोर्खाज फाइनान्सले रू. ५ करोड ४८ लाख नाफा कमाएको छ । यी कम्पनीहरुमध्ये कम नाफा नेपाल फाइनान्सको रू.१३ लाख १८ हजार रहेको छ ।
मल्टीपर्पस फाइनान्सको नाफा भने गत आवको तुलनामा चालू आवमा १९६ प्रतिशत वृद्धि भएको छ । गत आवमा यस कम्पनीले रू.५३ लाख ६६ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू. १ करोड ५९ लाख पुगेको हो । चालू आवमा यस कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले नाफा बढ्न टेवा पुगेको हो ।
स्रोत : चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण