काठमाडौं । आइएमई ग्रुपले शुक्रवार स्थापनाको २५औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आग्रह गरे ।
गभर्नर पौडेलले प्रविधि विकास र उद्यम विस्तारमा राष्ट्र बैंकले सहजीकरण गर्न तयार रहेको बताए । द्वन्द्वले देश अप्ठ्यारो समयमा रहेको बेला समेत जोखिम लिएर आइएमई स्थापना भएको स्मरण गर्दै गभर्नर पौडेलले देशलाई अहिले पनि जोखिम लिन सक्ने धेरै उद्यमीको खाँचो रहेको उल्लेख गरे ।
सो अवसरमा आइएमईका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई ग्रुपको सफलतामा तीनओटा आधार रहेको प्रस्ट्याए । अध्यक्ष ढकालले आइएमई ग्रुपका कम्पनीहरूले नाफा कमाउन मात्र ध्यान नदिएर आम मानिसले खोजेका सेवा, सरकारले राखेको प्राथमिकता र व्यवसायको रूपमा अघि बढाउन सकिने तीनओटा मूल सिद्धान्तमा केन्द्रित बनेर सफलता हासिल गर्न सम्भव भएको बताए ।
यिनै तीन मुख्य व्यावसायिक सिद्धान्तमा टेकेर आइएमई ग्रुपले रेमिट्यान्सबाट बैंकिङ, बीमा, पर्यटन, सूचना प्रविधि, जलविद्युत् लगायतका क्षेत्रमा लगानी विस्तारमार्फत हजारौं गुणस्तरीय रोजगारी सृजना गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरिरहेको उनको भनाइ थियो ।
सो अवसरमा आइएमईका सह–संस्थापक तथा अध्यक्ष हेमराज ढकालले उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आइएमईले आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । उनले विदेशमा काम गर्न जाने क्रममा युवाहरूले महँगो ब्याज तिरेर ऋण लिन बाध्य हुनु परिरहेको अवस्थाको अन्त्य गर्न आइएमईमार्फत नै सानो कर्जा दिन सकिने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई आग्रह गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमईले सेवा प्रदान गरिरहेको बताए । प्रविधिमा भएको विकासलाई आत्मसात् गर्दै थप विविधीकृत सेवाहरूको माध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने उनको भनाइ थियो ।
सो अवसरमा वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तरकम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेतालाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।