काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूले आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गरेमा पदमात्र नभएर राजनीति नै छाड्ने बताएका छन् । आज सञ्चारकर्मीहरूसँग उनले गृह मन्त्रालयअन्तर्गत हजारौँ कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान हुनेबित्तिकै मन्त्रीले नै राजीनामा दिने कुराले राम्रो नजिर नबसाल्ने जिकिर गरे ।
उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमनमा ‘भिजिट भिसा’ का विषयमा मात्रै होइन, आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाटै अलग्गिने बताए ।
“अहिले जुन सवाल उठिरहेको छ, यस सन्दर्भमा मात्रै होइन, मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गर्यो भने म पदबाट होइन राजनीतिबाट राजीनामा दिन्छु”, लेखकले भने, “यसर्थ मेराविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गबाट झुट्टा प्रचारबाजी भइरहेको छ । यस विषयमा विस्तृत धारणा राख्न आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय माग गरेको छु ।”
उनले संवैधानिक निकायबाट कुनै पनि वेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् । गृहमन्त्री लेखकले अगाडि भने, “गृह मन्त्रालयमा हजारौँ कर्मचारी छन्, यहाँ रहेका कुनै पनि कर्मचारीमाथि संवैधानिक निकायले जुनसुकै वेला अनुसन्धान गर्नसक्छ । के त्यसो हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउने हो ? त्यो सम्भव छ ? त्यसकारण मैले भनिसकेँ मेराविरुद्ध राजनीतिक र नियोजित रूपले षड्यन्त्रमूलक ढङ्गले झुट्टा प्रचारबाजी भइरहेको छ ।”
यसअघि आजै गृह मन्त्रालयले पनि प्रेस विज्ञप्ति जारी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित र प्रशारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारिएको छ । रासस