संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार युरोपेली सङ्घबाट आयात हुने सम्पूर्ण वस्तुमा ५० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् । उनले एप्पल कम्पनीलाई समेत आफ्ना फोन अमेरिकामा उत्पादन नगरेर बाहिरबाट ल्याएमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, “हाम्रो वार्ता युरोपेली सङ्घसँग सहजतापूर्वक अघि बढिरहेको छैन । त्यसैले, म युरोपेली सङ्घका सबै वस्तुहरूमा सोझै ५० प्रतिशत कर लगाउने सिफारिश गर्दै छु । तर यदि ती वस्तु अमेरिकामै निर्माण गरिन्छ भने कुनै पनि शुल्क लाग्ने छैन ।”
एप्पललाई चेतावनी
यस्तो घोषणा गर्नुअघि राष्ट्रपति ट्रम्पले एप्पल कम्पनीसँग असन्तुष्टि जनाउँदै यदि एप्पलले अझै पनि आफ्नो फोन एशियामा उत्पादन गर्न जारी राखे ती फोनमा २५ प्रतिशत कर लगाइने चेतावनी दिएका छन् ।
यससँगै एप्पल कम्पनी पनि अन्य ठूला अमेरिकी कम्पनीजस्तै राष्ट्रपतिको नीतिअन्तर्गत दबाबमा परेको छ । ती कम्पनीहरूमा अमेजन, वालमार्टलगायत रहेका छन्, जसले ट्रम्पको शुल्क नीतिका कारण उत्पन्न भएको अनिश्चितता र मूल्यवृद्धिको दबाब खेपिरहेका छन् ।
ईयूसँगको व्यापार वार्तामा ट्रम्प असन्तुष्ट
राष्ट्रपति ट्रम्पले युरोपेली सङ्घसँगको व्यापार वार्ताबाट कुनै सन्तोषजनक प्रगति नभएको बताउँदै त्यसप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन् । युरोपेली पक्षले परस्पर रूपमा सबै वस्तुमा कर हटाउने प्रस्ताव गरे तापनि ट्रम्पले अधिकांश वस्तुमा न्यूनतम १० प्रतिशत शुल्क कायम राख्नुपर्ने अडान लिँदै आएका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका केही वाक्यले समेत विश्वको आर्थिक अवस्थालाई प्रभावित पार्ने खालको प्रभाव देखाएको एपी समाचार एजेन्सीले जनाएको छ । यद्यपि, उनका शुल्क नीतिहरूले अहिलेसम्म उनले प्रतिवद्धता गरेका घरेलु उत्पादनको पुनःस्थापनामा खासै अपेक्षित परिणाम दिन सकेका छैनन् । एपी/रासस