काठमाडौं । चितवनको खैरहनी नगरपालिकामा पर्ने पर्सामा ६ वर्षदेखि फ्युजन फेशन नामक फेन्सी पसल चलाउँदै आएकी अन्तिमा श्रेष्ठले अनलाइन अर्डर पनि लिन्छिन् । टिकटकलगायत सामाजिक सञ्जालमार्फत स्वदेश तथा विदेशका ग्राहकसम्म पुग्ने उनले सामान डेलिभरीका लागि भने कुरियर सेवा लिने गरेकी छन् ।
‘नेपालभर र विदेशबाट समेत ग्राहकले अनलाइनमार्फत सामान अर्डर गर्ने भएकाले आफैले डेलिभरी गर्न सकिँदैन । डेलिभरीका लागि कुरियर कम्पनीबाट सेवा लिने गरेकी छु,’ उनले भनिन् । ग्राहकहरू पसलमा भौतिक रूपमा उपस्थित भएरभन्दा अनलाइन अर्डर गरेर वस्तु तथा सेवा खरीद गर्ने प्रचलन व्यापक हुँदै गएको छ । अनलाइनमार्फत आएको अर्डरअनुसार सामान डेलिभरीको लागि उनीहरूले कुरियर कम्पनीको सेवा लिने हुँदा कुरियर कम्पनीको व्यवसायलाई अनलाइन व्यापारले निकै योगदान गरेको कुरियर व्यवसायी बताउँछन् ।
नेपाल कुरियर सेवा संघका अध्यक्ष दुर्गाप्रसाद सुवेदीले ई–कमर्सको बढ्दो लोकप्रियताका कारण कुरियर व्यवसायीको व्यापार करीब २५ प्रतिशतसम्मले वृद्धि भएको बताए । ‘अनलाइनमार्फत हुने व्यापारको डेलिभरको लागि कुरियर कम्पनीले सेवा पुर्याउँछन् । त्यसबापत केही निश्चित प्रतिशत कमिसन आउँछ । त्यसबाट कुरियर व्यवसाय सञ्चालन गर्नेलाई फाइदा पुगेको छ,’ उनले भने ।
आधिकारिक रूपमा दर्ता भएर कुरियर सेवा संघमा आबद्ध कुरियरको संख्या ७२ छ । तिनले नेपाललगायत विदेशमा समेत सामान डेलिभरी सुविधा दिने गरेका छन् । महत्त्वपूर्ण कागजात, लत्ताकपडादेखि खाद्यान्नलगायत विभिन्न प्रकारका सामान कुरियर सेवामार्फत डेलिभरी हुने गरेको छ । करीब १७ वर्ष अरूकै कुरियरमा काम गरेर त्यसपछि सन् २०१७ देखि आफै कुरियर चलाउँदै आएका तिलक कार्कीले काठमाडौंको ठमेलस्थित प्यासिफिक फ्रेट नेपाल प्रालि नामक कुरियर सञ्चालन गरेका छन् ।
आफूले कुरियर शुरू गर्दाका बेला र आजको यो व्यवसायमा ठूलो अन्तर आएको उनको बुझाइ छ । ‘मैले व्यवसाय शुरू गर्दा अहिलेको जस्तो अनलाइनमार्फत व्यापार खासै हुँदैन थियो । धेरैजसो सरकारी कार्यालयका कागजपत्र डेलिभरी गर्ने काम हुन्थ्यो । कुरियरहरू पनि अहिलेको जस्तो छ्याप्छ्याप्ती थिएनन्,’ उनले भने । ‘अहिले त उपभोक्ताले हरेक सामान अनलाइनमार्फत अर्डर गर्छन् । त्यसैगरी अनलाइन व्यापार गर्नेहरू पनि बढेका छन् । त्यसकारण विगतको तुलनामा अहिले कुरियर व्यवसाय फस्टाएको छ ।’ पछिल्लो समय अनलाइनमार्फत अर्डर लिई सामान बेच्नेका लागि उपभोक्ताको दायरा फराकिलो भएको छ ।
‘जस्तै मेरो पसल चितवनमा छ । अनलाइन अर्डर गर्ने सिस्टम नभएको भए मेरा ग्राहक यतै आसपासका मात्रै हुने थिए,’ व्यापारी श्रेष्ठले भनिन् । ‘तर, अनलाइनका कारण नेपाल मात्रै नभई अस्ट्रेलिया, जापान, डेनमार्कमा समेत मेरा ग्राहक छन् । त्यसकारण त्यहाँबाट आउने अर्डरका लागि कुरियरविना डेलिभरी दिन सक्दिनँ ।’ उनको विचारमा कुरियर व्यवसाय र अनलाइन एकअर्काको व्यवसाय बढाउन सहयोगी बनेका छन् ।