काठमाडौं । नेपालबाट बंगलादेशमा ४० मेगावाट बिजुली जुन १५ (असार १) मै पठाउने गरी तयारी भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
बंगलादेशले समयमै नेपालबाट बिजुली किन्न करीब २ साताअघि नै प्रतीतपत्र (एलसी) खोलिसकेकाले असार १ मै बिजुली निर्यात हुने निश्चित भएको प्राधिकरणका प्रवक्ता राजन ढकालले आर्थिक अभियान दैनिकलाई बताए ।
नेपालबाट भारतको बाटो हुँदै बंगलादेशमा ४० मेगावाट बिजुली बेच्न गतवर्ष असोज १७ मा त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौताअनुसार वर्षायामका ५ महीना (हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म) नेपालले बंगलादेशलाई बिजुली बेच्नेछ । नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशको अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन र जलस्रोतसम्बन्धी सल्लाहकार सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
नेपालका तर्फबाट प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतका तर्फबाट एनटीपीसी विद्युत् व्यापार निगमकी प्रमुख कार्यकारी अधिकृत रेणु नारङ तथा बंगलादेशका तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिमले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
‘सोही सम्झौताअनुसार बंगलादेशले एलसी खोलेर सबै प्रक्रिया पूरा गरिसकेकाले असार १ अर्थात् जुन १५ मै हामीले बंगलादेशमा ४० मेगावाट बिजुली पठाउने कुरा निश्चित भइसकेको छ,’ प्रवक्ता ढकालले भने । गत असोजको सम्झौतापश्चात् नेपालले गत कात्तिक ३० मा बंगलादेशलाई दिउँसो १२ बजेदेखि रातिको १२ बजेसम्म ४० मेगावाट बिजुली बेचेको थियो । उक्त बिजुली बेचेबापत नेपालले प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टका दरले ३० हजार ८० डलर आम्दानी प्राप्त गरेको थियो ।
गतवर्ष नेपालले बंगलादेशलाई १२ घण्टासम्म विक्री गरेको ४० मेगावाट बिजुलीको भुक्तानी भने अहिलेसम्म नपाएको उनले स्वीकार गरे । गतवर्ष बिजुली निर्यातका लागि सम्झौता भएको अन्तिम दिन नोभेम्बर १५ मा नेपालले बिजुली निर्यात गर्दा एलसीको प्रक्रिया शुरू हुन सकेको थिएन । यसपालि हामीले बिजुली पठाएपछि गतवर्ष र यस वर्षको भुक्तानी सँगै गर्ने बंगलादेशले प्रतिबद्धता व्यक्त गरेको ढकालले बताए ।
गतवर्ष प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र आफ्नै सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गरेको थियो ।
यी दुवै आयोजनाले भारतमा समेत विद्युत् निर्यातको स्वीकृति पाएका छन् ।
नेपाल र भारतबीचको पहिलो ४०० केभी अन्तरदेशीय प्रसारण लाइन ढल्केवर–मुजफ्फरपुर हुँदै नेपालको बिजुली बंगलादेश पुगेको थियो । त्यसका लागि विद्युत्को मीटर मुजफ्फरपुरमा राखिएको छ । त्यसैले ढल्केवरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नुपर्ने सम्झौता भएको छ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेश पुगेको थियो । यस वर्ष पनि सोहीअनुसार हुने प्राधिकरणले बताएको छ ।