काठमाडौं । देशको वैदेशिक व्यापार (आयात/निर्यात) बढेसँगै बैंक, वित्तीय संस्थामा कर्जा प्रवाह विस्तारै बढ्न थालेको छ ।
व्यवसायीले व्यवसाय विस्तारका लागि लिने चालू पूँजी, आवधिक कर्जाका साथै विदेशबाट सामान आयातका लागि लिने आयात कर्जा विस्तारले बैंकहरूको कर्जा वृद्धिदर सकारात्मक हुन थालेको छ । यसबाहेक बैंकहरूले व्यक्तिगत घरजग्गा खरीद, रियल इस्टेट, शेयर बजार र गाडी खरीदका लागि प्रवाह गर्ने कर्जा बढेसँगै समग्र बैंकहरूको कर्जा विस्तार भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतवार प्रकाशित गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ९ महीना (साउन–चैत) मा बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाह भएको कर्जा ३ खर्ब ६१ अर्ब ३ करोडले बढेको छ । गत आवको असारको तुलनामा कर्जा प्रवाह ७ दशमलव १ प्रतिशतले बढेको हो ।
गत आवको ९ महीनामा बैंकहरूको कर्जा प्रवाह २ खर्ब २२ अर्ब २१ करोड अर्थात् ४ दशमलव ६ प्रतिशतले बढेको थियो । यसैगरी गतवर्ष चैतको तुलनामा चालू वर्षको चैतसम्ममा कर्जा प्रवाह ८ दशमलव ३ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ ।
क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी वृद्धिदर आयात कर्जामा देखिएको छ । उद्योगी व्यापारीले सामान आयात गर्न ट्रस्ट रिसिप्ट (आयात) कर्जा चालू आवको चैतसम्ममा ६० दशमलव ६ प्रतिशतले बढेको छ ।
गत असारसम्ममा आयातमा बैंकहरूले ८२ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा चैत मसान्त हुँदा बढेर १ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । असारको तुलनामा चैतसम्ममा मार्जिन प्रकृतिको कर्जा ३७ दशमलव ८ र चालू पूँजी कर्जा १७ प्रतिशतले बढेको छ ।
वैदेशिक व्यापार बढ्दा बैंकहरूको कर्जा प्रवाहमा सकारात्मक प्रभाव देखिएको हो । चालू आवको चैतसमम्ममा कुल वस्तु निर्यात ६५ दशमलव ५ प्रतिशतले वृद्धि भई १ खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यसै अवधिमा कुल वस्तु आयात पनि १२ दशमलव २ प्रतिशतले वृद्धि भई १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबर पुगेको छ ।
राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल वैदेशिक व्यापार वृद्धि हुँदा बैंकहरूको कर्जा प्रवाह बढेको बताउँछन् । ‘आयात र निर्यात बढेसँगै बैंकहरूले आयातका लागि चालू पूँजी शीर्षकमा दिने कर्जा
प्रवाहमा वृद्धि देखिएको छ,’ उनले भने । यसैगरी शेयर बजार, घरजग्गा कारोबार जस्ता क्षेत्रमा पनि कर्जा प्रवाह विस्तार भएको उनले बताए ।
तरलता अधिक हुँदा बैंकहरूको ब्याजदर पनि घटेर न्यून विन्दुमा झरेको छ । २०८१ चैतमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर ८ दशमलव २२, विकास बैंकहरूको ९ दशमलव ५९ र वित्त कम्पनीहरूको १० दशमलव ४० प्रतिशत कायम छ । २०८० चैतमा वाणिज्य बैंकहरूको १० दशमलव ५५, विकास बैंकहरूको १२ दशमलव १७ र वित्त कम्पनीहरूको १३ दशमलव ३६ प्रतिशत थियो ।
विप्रेषण आप्रवाह बढ्दा बैंकहरूमा निक्षेप वृद्धि भइरहेको छ । राष्ट्र बैंकका अनुसार चालू वर्षको चैतसम्ममा बैंक, वित्तीय संस्थामा रहेको निक्षेप ३ खर्ब ६८ अर्ब ४७ करोड (५ दशमलव ७ प्रतिशत) ले बढेको छ । चैतसम्ममा विप्रेषण आप्रवाह १० प्रतिशतले बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७ दशमलव ३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५ दशमलव २ प्रतिशतले बढेको थियो ।
यस्तै विदेश घुम्न र शिक्षाका लागि जाने नेपालीको संख्या बढ्दा खुद सेवा आय घाटा बढेको छ । चालू वर्षको चैतसम्ममा भ्रमण आय ९ दशमलव ५ प्रतिशतले वृद्धि भई ६६ अर्ब ५४ करोड पुग्दा भ्रमण व्यय १९ प्रतिशतले बढेर १ खर्ब ७० अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यसमध्ये विदेश पढ्न जाने विद्यार्थीले मात्र १ खर्ब ३ अर्ब ८४ करोड लगेका छन् ।
चैतसम्ममा चालू खाता २ खर्ब १० अर्ब २२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्व ७९ अर्ब ८३ करोड रुपैयाँले बचतमा थियो । यस्तै २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति १८ दशमलव ९ प्रतिशतले वृद्धि भई २०८१ चैतमा २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ बराबर पुगेको छ ।
अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५ दशमलव ४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । आव २०८१/८२ को ९ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति १७ दशमलव १ महीनाको वस्तु आयात र १४ दशमलव २ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ । चालू वर्षको चैतमा महँगी वृद्धिदर घटेको छ । पोहोर चैतमा महँगी वृद्धिदर ४ दशमलव ६१ प्रतिशत रहेकोमा यसपालि चैतमा ३ दशमलव ३९ प्रतिशत कायम भएको राष्ट्र बैंककोे भनाइ छ ।