काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुऱ्याएको क्षतिको पुन:निर्माणमा सरकार लाग्ने बताएका छन् ।
मन्त्री खड्काले आज मेलम्ची र हेलम्बु क्षेत्रको स्थलगत अनुगमन गर्दै बाढी प्रभावित क्षेत्रको पुन:निर्माणमा सरकारले काम गर्ने बताएका हुन् ।
उनले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गरे । 'बाढीपछिको हेलम्बु, मेलम्चीको पुन:निर्माणको लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडी बढौं,' उनले भने ।
ऊर्जामन्त्री खड्काले पहाडी क्षेत्रका उर्वर भूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताए । 'सिन्धुपालचोक इन्द्रावती गाउँपालिका–भीमटारमा रहेको २२ ओटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिँचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न शुरु गरिनेछ,' उनले भने ।
पहाड़ी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिँचाइ व्यवस्थापन एकदमै महत्त्वपूर्ण भएको उनको भनाइ थियो । 'यस क्षेत्रको सिँचाइका हाम्रो मन्त्रालय सक्रिय छ र म व्यक्तिगत रूपमा यसमा सहयोग गर्न तयार छु,' मन्त्री खड्काले भने ।
विस २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षति पुऱ्याएको थियो । यद्यपी, हालसम्म पनि पुननिर्माण हुन नसकेपछि नेपाली कांग्रेसका नेता एवम् उक्त क्षेत्रका सांसद मोहन बस्नेतको सक्रियतामा ऊर्जामन्त्री खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजा, सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालगायतको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।
निरीक्षणका क्रममा मन्त्री खड्कालाई सोही क्षेत्रका स्थानीयले बाढीपहिरोले पुगेको क्षतिको पुन:निर्माण गर्न माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । उनीहरूले बाढीले पुऱ्याएको क्षतिको पुन:निर्माणमा स्थानीय तहको पर्याप्त स्रोत साधन नहुँदा जनता मारमा परेको भन्दै चाँडो पुननिर्माण गरिदिन आग्रह गरेका हुन् ।