काठमाडौं । भारत र बंगलादेशले एकअर्को मुलुकको अन्तरराष्ट्रिय व्यापारमा असर पर्ने गरी चालेको कदमबाट नेपालबाट बंगलादेशमा हुने बिजुली निर्यातमा अवरोध आउने आशंका उब्जिएको छ । नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली किनबेच सम्झौता भइसकेको छ ।
नेपालबाट बंगलादेश बिजुली निर्यात गर्दा भारतीय प्रसारण लाइन प्रयोग गर्नुपर्छ । तर, पछिल्लो समय सम्बन्ध चिसिएका भारत र बंगलादेश व्यापार युद्धतर्फ अग्रसर हुँदा नेपालले बंगलादेशमा गर्ने बिजुली निर्यातमा आशंका उब्जिएको हो ।
केही दिनअघि भारतले आफ्ना स्थल भन्सार नाका हुँदै तेस्रो देशमा सामान निर्यात गर्न बंगलादेशलाई दिइरहेको अनुमति खारेज गरेको थियो । त्यसको केही दिनपछि ढाकाले भारतका थुप्रै तथा नेपाल र भुटानका दुई थरी वस्तु आफ्नो मुलुकमा आयात गर्न प्रतिबन्ध लगाएको छ ।
भारतले बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनालाई शरण दिएपछि बंगलादेशले चीन र पाकिस्तानसँग सम्बन्ध बलियो बनाउन थालेको पृष्ठभूमिमा दुवै देशले एकअर्काको व्यापारमा प्रभाव पर्ने गरी कदम चाल्दा नेपालले बंगलादेशमा ४० मेगावाट बिजुली बेच्ने सम्झौता समेत प्रभावित हुन सक्ने अन्तरराष्ट्रिय व्यापारिक मामलाका जानकारहरूको भनाइ छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव तथा अन्तरराष्ट्रिय व्यापारविज्ञ रविशंकर सैंजूले यी दुई देशबीच पछिल्लो समय चर्किएको व्यापार युद्धका कारण नेपालबाट भारतको बाटो हुँदै बंगलादेशमा बिजुली बेच्ने काममा अवरोध हुन सक्ने बताए ।
‘दुई देश (भारत र बंगलादेश) बीचको सम्बन्धमा चिसोपन बढ्दै गएका कारण भारतले बंगलादेशलाई नेपालबाट बिजुली किन्न आफ्नो ग्रीड प्रयोग गर्न नदिने सम्भावना छ । त्यसो भए तेस्रो मुलुकमा बिजुली व्यापार गर्ने नेपालको सपनामा धक्का लाग्न सक्छ,’ सैंजूले भने । ‘भारतको ग्रीड प्रयोग नगरी नेपालको बिजुली बंगलादेशमा बेच्न सम्भव छैन ।’
उनका अनुसार बिजुली मात्रै होइन, भारत–बंगलादेशबीचको सम्बन्धमा सुधार नआउन्जेल भारतको बाटो हुँदै नेपाल र बंगलादेशबीच हुने अन्य व्यापारसमेत प्रभावित हुन सक्नेछ ।
- भारतद्वारा आफ्ना स्थल भन्सार नाका हुँदै तेस्रो देशमा सामान निर्यात गर्न बंगलादेशलाई दिइरहेको अनुमति खारेज
- बंगलादेशले लगायो भारतका धेरै उत्पादनमा आयात प्रतिबन्ध
- गत असोज १७ मा नेपालबाट बंगलादेशमा ४० मेगावाट बिजुली विक्री गर्न नेपाल, भारत र बंगलादेशबीच सम्झौता
- कात्तिक ३० मा पहिलोपल्ट भारतबाहेकको तेस्रो मुलुकमा एक दिनका लागि बिजुली निर्यात
यसअघि गत असोज १७ मा नेपालबाट बंगलादेशमा ४० मेगावाट बिजुली विक्री गर्न नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता भएको थियो । त्रिपक्षीय सम्झौताअनुसार नेपालले ५ वर्षसम्म जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा बिजुली निर्यात गर्न पाउनेछ ।
सम्झौतापछि नेपालले गत कात्तिक ३० गते पहिलोपल्ट भारतबाहेकको तेस्रो मुलकमा १ दिनका लागि बिजुली निर्यात गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने भारत–बंगलादेश व्यापार युद्धका कारण नेपाल र बंगलादेशबीच विद्युत् व्यापार प्रभावित हुने/नहुने बारे अहिले नै यकीन गर्न नसकिने बताए । तर, यदि भारतले नेपाललाई बंगलादेशमा बिजुली बेच्न आफ्नो ग्रीड प्रयोग गर्न नदिने अवस्था आएमा उक्त बिजुली नेपालले भारतलाई बेच्ने उनले बताए । बंगलादेश नभएर उक्त बिजुली भारतमा बेच्नुपर्ने अवस्था आएमा भारतका लागि बिजुलीको दर रेट कम हुने उनको भनाइ छ ।
‘अहिले बंगलादेशले भारतबाट पनि १ हजार ६०० मेगावाट आपूर्ति लिइरहेको छ । यदि दुई देशबीच बिग्रँदै गएको सम्बन्धका कारण यो आपूर्ति बन्द नभएमा नेपालले सोही प्रसारण लाइन प्रयोग गर्नेछ,’ शाक्यले भने । भारतको अडानी पावरले पूर्वी राज्य झारखण्डमा रहेको आफ्नो कोइलाबाट चल्ने प्लान्टबाट बंगलादेशलाई उक्त बिजुली आपूर्ति गर्छ । यद्यपि, अडानीले अक्टोबर ३१ मा बंगलादेशलाई दिँदै आएको बिजुली आपूर्ति आधा घटाएको थियो । आर्थिक संकटसँग जुधिरहेको बंगलादेशले अडानीलाई भुक्तानी गर्न नसक्दा आपूर्ति घटाएको हो । पछि बंगलादेशले पुन: भुक्तानी दिन थालेपछि अडानीले गत मार्चमा पुन: विद्युत् आपूर्ति नियमित गरेको थियो । प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालले पनि दुई देशबीचको व्यापार युद्ध कति समय लम्बिन्छ भन्ने यकीन नभएकाले अहिले नै त्रिपक्षीय विद्युत् व्यापार सम्झौताको भविष्य के हुन्छ भनेर अनुमान गर्न नसकिने बताए ।
‘दुई देशबीचको मनमुटाव बिजुलीको व्यापारसम्म पुग्छ कि पुग्दैन यसै भन्न सकिँदैन । हालसम्म बिजुली विक्रीमा अवरोध हुने कुनै संकेत आएको छैन,’ ढकालले भने ।