काठमाडौँ । अमेरिकी सरकारले चिनियाँ कम्पनी हुवावेले उत्पादन गरेका कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स- एआई) चिप्सले अमेरिकी निर्यात नियमन उल्लंघन गरेकाले ती एआई चिप्स प्रयोग गरेमा आपराधिक कारबाही हुनसक्ने चेतावनी दिएको छ । अमेरिकाले हुवावेले उत्पादन गरेका ती एआई चिप्सले अमेरिकी निर्यात नियमनको उल्लंघन गरेको आरोप पनि लगाएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकी वाणिज्य मन्त्रालयले हुवावे उत्पादित एसेन्ड प्रोसेसरबारे नयाँ निर्देशन जारी गर्दै ती प्रोसेसर कि त अमेरिकी प्रविधिबाट उत्पादित भएको वा तिनमा अमेरिकी प्रविधि निहित रहेको जनाएको सञ्चारमाध्यमहरू उल्लेख गरेका छन् ।
अमेरिकी निर्यात नियामक निकाय उद्योग तथा सुरक्षा ब्यूरोले विदेशी एआई चिप्सका सम्बन्धमा विश्वभरि नै हुवावे एसेन्ड एआई चिप्स प्रयोगबारे निर्देशन जारी गर्ने लगायत कडा कदम चाल्ने जनाएको छ । उसले हुवावे एसेन्ड एआई चिप्सले विश्वभरि नै अमेरिकी निर्यात नियमन उल्लंघन गर्ने जनाएको छ ।
यो विषयका जानकारहरूले भने ब्यूरोले कुनै नयाँ नियम जारी गरेको नभएर हुवावेका एआई चिप्स प्रयोगकर्ता विश्वभरिका कम्पनीहरूलाई ती चिप्सले खासगरी कुनै चिनियाँ कम्पनीले निर्यात अनुमति पाउन अत्यन्त कठीन अमेरिकी प्रविधिसम्बन्धी प्रावधान उल्लंघन गरेको हुनसक्ने प्रष्ट पारेको बताएका छन् ।
ब्यूरोले हुवावेका ३ वटा एसेन्ड चिप्सहरू- ९१०बी‚ ९१०सी र ९१०डी ले अमेरिकी निर्यात नियमन उल्लंघन गरेको हुनसक्ने जनाएको छ । ब्यूरोका अनुसार ती एआई चिप्स अमेरिकी सफ्टवेयर वा प्रविधिबाट डिजाइन गरिएको वा अमेरिकी मूलको सफ्टवेयर वा प्रविधि उपयोग गरिएको सेमिकन्डक्टर उपकरणबाट उत्पादन गरिएको हुनसक्छ ।
केही समययता हुवावे तीव्र गतिमा उन्नत चिप्स र अन्य एआई उपकरणहरू विकास गरिरहेकोमा औधी सशंकित रहेको अमेरिकाले यसबारे निगरानी गरिरहेको वेला अमेरिकी निकायको यस्तो निर्देशन आएको छ ।
हुवावेले भने चीनमा उसका ग्राहकहरूलाई आफ्ना एआई चिप्स आपूर्ति गर्न थालिसकेको छ । उसले आफ्ना चिप्स उसको प्रतिष्पर्धी अमेरिकी एआई चिप्स उत्पादक कम्पनी एनभिडियाको त्यस्तै चिप्सभन्दा निकै उन्नत रहेको दावीसमेत गरेको छ ।
हुवावे अहिले चिनियाँ कम्पनीहरूलाई खासगरी एसेन्ड सिरिजका ९१०बी र ९१०सी एआई चिप्स बेचिरहेको छ । चिनियाँ कम्पनीहरूले चिप्सलगायत सामान एनभिडियालाई छाडेर हुवावेसँग किन्ने प्रस्ताव आउन थालेपछि उसले आफ्नो उत्पादन परिमाण बढाउन उन्नत सेमिकन्डक्टर प्रोडक्शन लाइन नै निर्माण गरिरहेको छ ।