काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले पहिलो चरणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा आईपीओ विक्री गरी बाँडफाँट गरेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा जारी पूँजी रू. ५४ करोड ४० लाख ५३ हजारको १० प्रतिशतले हुने ५४ लाख ४० हजार ५३ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा फागुन ८ गतेदेखि चैत ७ गतेसम्म विक्री गरेको थियो ।
आयोजना प्रभावितका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये आयोजना अतिप्रभावित क्षेत्र नौमुले द्वारी–३ दैलेखमा स्थायी बसोबास गर्नेहरूका लागि २ लाख ७२ हजार २६ कित्ता र आयोजना प्रभावित क्षेत्र दैलेख जिल्ला नौमुले द्वारी–३ बाहेकका स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार २७ कित्ता शेयर चैत १२ गते बाँडफाँट गरिएको हो ।
कम्पनीले रितपूर्वक प्राप्त नभएका आवेदकहरूको शेयर वापतको रकम चैत १४ गतेदेखि सम्बन्धित आवेदकहरूले आवेदन फारममा उल्लेख गरेको बैंक खातामै रकमान्तर गर्ने जानकारी दिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ बाँडफाँट गर्नुअघि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा आईपीओ बाँडफाँट गरेको थियो । फागुन ८ गतेदेखि फागुन २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा आईपीओ विक्री गरेको कम्पनीले चैत ६ गते बाँडफाँट गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा भने जारी पूँजी रू. ५४ करोड ४० लाख ५३ हजार ४०० को २० प्रतिशत दरको १० लाख ८८ हजार १०७ कित्ता शेयरमध्ये १० प्रतिशत दरको १ लाख ८ हजार ८११ कित्ता शेयर बाँडफाँट गरिएको हो ।
अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्नेछ । सर्वसाधारणमा सामूहिक लगानीकोष र कर्मचारी समेत कम्पनीले ९ लाख ७९ हजार २९६ कित्ता शेयर विक्री गर्नेछ ।
कम्पनीले दैलेख जिल्लामा ३ दशमलव ७५ मेगावाटको द्वारी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ साल वैशाख २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ छ भने प्रतिमेगावाट लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ छ ।