काठमाडौं । वैशाख २५ गते शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएको राप्ती हाईड्रो एण्ड जनरल इन्स्ट्रक्सन लिमिटेडले बुक क्लोजको मिति तोकेको छ ।
वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । बुक क्लोजको आधारमा जेठ ५ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले हकप्रद शेयर निष्कासन मिति भने तय गर्न बाँकी छ । कम्पनीलाई हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँका आधारमा सोही रकम बराबरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डले अनुमति दिएको हो ।
यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ कायम हुनेछ ।