काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था आइएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृति पत्र प्रदान गरेको छ । दुई ठूला डिजिटल वालेट एक भएर एकीकृत कारोबार हुन लागेको यो पहिलो पटक हो ।
एकीकृत कारोबारपश्चात आधिकारिक रूपमा कम्पनीको नाम आइएमई खल्ती लिमिटेड रहने आइएमई पेले जानकारी दिएको छ । आइएमई पेका अनुसार संयुक्त कारोबार पश्चात अधिकारिक रुपमा एपको नाम खल्ती रहने छ ।
नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी ३ महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीव्र रूपमा चल्ने बताइएको छ । यद्यपि, दुवै एप यथावत् रूपमा सञ्चालनमा रहने छन् । दुवै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू एकीकृत गरिने बताइएको छ ।
‘खल्ती र आइएमई पे दुवैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आइएमई पेमा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिनेछ । नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नयाँ फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन्,’ विज्ञप्तिमा भनिएको छ ।
संयुक्त कारोबारपछि एपको नाम खल्ती भएपनि आइएमई पेमा भएका सबै फिचरहरू त्यहाँ समावेश हुनेछन् । हालसम्म आइएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आवद्ध हुन सक्नेछन् ।
आइएमई पेमा भएका ब्यालेन्स, रिवार्ड प्वाइन्ट सहजै खल्तीमा स्थानान्तरण हुनेछन् । यस कार्यबाट खल्ती एप सहज र सुविधाजनक डिजिटल प्लेटफर्मको रूपमा स्थापित हुने विश्वास लिइएको छ ।
खल्ती वालेटले आगामी दिनहरूमा प्रयोगकर्ताहरूलाई फिनटेक क्षेत्रमा नयाँ अनुभव प्रदान गर्ने बताइएको छ । एपमार्फत प्रयोगकर्ताहरूले विश्वको कुनै पनि ठाउँबाट पठाएको रेमिटेन्स सजिलै वालेटमा प्राप्त गर्न सक्नेछन् भने एपमार्फत नै बैंक खाता खोल्न, भिजा कार्ड प्राप्त गर्न सक्नेछ्न् । साथै, भविष्यमा ऋण तथा अन्य सुविधाको पहुँच विस्तार पनि खल्ती एपमै हुनेछ ।
२०८१ को फागुनमा नेपालका प्रमुख दुई भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पे र खल्तीबीच मर्जर गर्ने समझदारी भएको थियो । दुई कम्पनी मर्जर गर्ने समझदारीसँगै स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाइएको थियो ।
नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फछ्र्योट विनियमावली, २०७७ संशोधन गर्दै वालेट मर्ज हुनसक्ने व्यवस्था गरेको थियो । संशोधित विनियमावलीमा भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरू एकआपसमा गाभ्न/गाभिन वा प्राप्ति गर्न सक्ने व्यवस्था उल्लेख छ ।
आइएमई ग्रुपको लगानी रहेको आइएमई पे नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायकको इजाजत पाउने पहिलो कम्पनी समेत हो । यस्तै खल्तीमा इन्टरनेट सेवाप्रदायक वल्र्डलिंकसहित ‘स्पारो’ एसएमएस सञ्चालनमा ल्याउने अमित अग्रवालसहित अन्य तीन जनाको लगानी रहेको छ । हाल खल्तीको चुक्तापूँजी ५ करोड रुपैयाँ र आईएमई पेको चुक्तापूँजी ३० करोड रुपैयाँ छ ।
तर, वित्तीय संरचना र शेयर स्वामित्वको बाँडफाँट अझै खुलाइएको छैन ।
गुगल प्लेस्टोरमा खल्ती ५० लाखभन्दा बढी डाउनलोड भएको छ भने आईएमई पे १० लाखभन्दा बढी डाउनलोड भएको छ ।