काठमाडौं। द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका सह–संस्थापक तथा कार्यकारी निर्देशक महेन्द्रराज कँडेल र गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले नवप्रवर्तन, उद्यमशीलता र दिगो विकासलाई प्रवर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरका प्रमुख गणेश पौडेल र गाउँपालिकाका उपाध्यक्ष राजु बराल सो क्रममा उपस्थित थिए । सम्झौतामा दुवै संस्थाले स्थानीय उद्यमीका लागि स्टार्टअप इन्क्युबेसन तथा मार्गदर्शन गर्ने, डिजिटल साक्षरता, व्यापार तथा प्रविधिमा शीप विकास कार्यशालाको आयोजना गर्ने उल्लेख छ । त्यस्तै कृषि प्रविधि, ग्रामीण पर्यटन तथा हस्तकलामा आधारित स्टार्टअपमा सहयोग गर्ने, स्मार्ट गाउँ तथा डिजिटल शासन प्रणालीको प्रवर्द्धन गर्ने, उद्यमशीलतासम्बन्धी नीति निर्माणमा सहयोग गर्ने साथै ग्रामीण नवप्रवर्तकलाई बजार तथा लगानी पहुँच विस्तार गर्ने योजना रहेको बताइएको छ ।
कलेजका कार्यकारी निर्देशक कँडेलले यो साझेदारी टीबीसीको ग्रासरुटमा आधारित नवप्रवर्तनप्रतिको प्रतिबद्धता भएको बताए । ‘हाम्रो इन्क्युबेसनमा जोडिएका विद्यार्थी तथा व्यावसायिक संस्थाबीचका विशेषज्ञता प्रयोग गरी फिक्कलका युवा र किसानको उद्यमशील सम्भावनाको खोजी र अनुसन्धान गर्दै त्यसलाई बजार र प्रविधिसँग जोड्ने कार्यको थालनी हुनेछ,’ उनले भने । त्यस्तै गाउँपालिका अध्यक्ष सुनुवारले यो समझदारी समुदायका लागि रूपान्तरणकारी कदम भएको बताइन् । टीबीसीसँगको सहकार्यले रोजगारी सृजना, शीप अभिवृद्धि र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याउने उनको अपेक्षा छ ।