काठमाडौँ । दोर्दी खोला जलविद्युतको अवितरित हकप्रद शेयर खरीद गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले आवेदन दिन छुट भएका सदस्यहरुलाई वैशाख १२ गतेदेखि वैशाख १४ गतेसम्म अवधि थप गरी अवितरित हकप्रद शेयर विक्रीमा ल्याएको हो ।
यसअघि कम्पनीले चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेकोमा केही शेयरधनीहरुले खरीद गर्न छुट भएकाले अवधि थप गर्ने निर्णय गरेको हो । वैशाख ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख १२ गतेदेखि वैशाख १४ गते कार्यालय समयसम्म आवेदन खुला गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासन गरेको हो । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ कायम हुनेछ । कम्पनीको १ कित्ता शेयर हुने शेयरधनीहरुले एक कित्ता हकप्रद शेयर खरीद गर्न पाउने छन् ।
हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको अघिल्लो दिन महाशिवरात्रिको सार्वजनिक विदा परेकाले फागुन १३ गतेसम्म कायम शेयरधनीहरू मात्र यो हकप्रद शेयरमा आवेदन दिन योग्य भएका छन् ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरुले सानिमा बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय सस्थासँगै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।