काठमाडौं । एमबीएल इक्विटी फण्डको इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल लिमिटेडले प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका कुल १२ करोड १६ लाख २५ हजार ३३० इकाई नेप्सेमा जेठ ७ गते सूचीकृत गरेको हो । माछापुच्छ्रे क्यापिटल लिमिटडले नयाँ योजना सञ्चालनका लागि फागुन २२ गतेदेखि चैत ७ गतेसम्म यी इकाई निष्कासन गरी चैत १४ गते बाँडफाँट गरेको हो ।
मागभन्दा बढी संख्यामा आवेदन पर्न आएकाले योजनाको आकार वृद्धि गरी १२ करोड १६ लाख २५ हजार ३३० इकाई कायम गरी बाँडफाँट गरिएको हो । यसअघि १२ करोड इकाई जारी गर्ने योजना बनाइएकोमा मागभन्दा बढी आवेदनको आधारमा आकार बढाइएको हो । रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकलाई १० करोड ३३ लाख ८१ हजार ५३० इकाई तथा बीज पूँजीवापत् कोष प्रवर्द्धक माछापुच्छ्रे बैंकलाई १ करोड ६८ लाख र योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई १४ लाख ४३ हजार ८०० इकाई बाँडफाँट गरिएको हो ।
बिहीवारदेखि कारोबारयोग्य हुने यी इकाई सम्बन्धित इकाईधनीहरूले आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् । एमबीएल स्टक संकेतबाट यस योजनाको इकाई दोस्रो बजारमा सूचीकृत भएको हो । क्यापिटलले १२ वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना सञ्चालन गर्नका लागि इकाई जारी गरेको हो ।