काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४२ प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीको जेठ ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । बुक क्लोजको आधारमा जेठ १५ गते सार्वजनिक विदा परेकाले जेठ १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरीद गर्न पाउनेछन् ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न वैशाख २६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ छ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर कम्पनीले जारी गर्नेछ । निष्कासन मिति भने तय गर्न बाँकी रहेको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।