काठमाडौं। ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को अवसरमा एनआईसी एशिया क्यापिटलले डडेलधुराको अमरगढी–५ मा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले विद्यार्थी तथा विभिन्न पेशामा आबद्ध व्यक्ति र सर्वसाधारणलाई लक्षित गरी शुक्रवार उक्त कार्यक्रम गरेको बताइएको छ ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख मर्चेण्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्राथमिक शेयर, धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरण, सामूहिक लगानी कोष, लगानीसम्बन्धी निर्णय लगायत विषयमा छलफल चलाएका थिए । सोही कार्यक्रममा सिडिएस एण्ड क्लियरिङका अधिकारी किशोर भट्टले संस्थाले उपलब्ध गराइरहेको सेवाका विषयमा जानकारी दिएका थिए । कार्यक्रममा ७५ जनाभन्दा बढीको सहभागिता थियो ।काठमाडौं। एनआइएमबि एस क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को सन्दर्भमा गत शुक्रवार सिन्धुपाल्चोकको चौतारमा रहेको कृष्णरत्न माध्यमिक विद्यालयमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको कक्षा ११ र १२ मा अध्यनरत करीब १०० जना विद्यार्थीको सहभागितामा उक्त कार्यक्रम गरिएको बताइएको छ । धितोपत्र बजारका लगानीकर्तालाई शिक्षा, सचेतना र बजारका विभिन्न पक्षमा जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताइएको छ ।
विश्व लगानीकर्ता सप्ताहले लगानीकर्ता शिक्षा र संरक्षणको महत्त्व बारे चेतना जगाउन र यी महत्त्वपूर्ण क्षेत्रमा धितोपत्र नियामकको विभिन्न पहललाई केन्द्रीकृत गर्ने बताइएको छ । कार्यक्रममा नेपाली शेयर बजारका विभिन्न पक्षको बारेमा पनि छलफल गरिएको थियो । उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यावहारिक पक्षबारे पनि छलफल गरिएको थियो ।