काठमाडौं । एनएलजी इनस्योरेन्स कम्पनी लिमिटेडले जेठ २९ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याङ्केट, बालुवाटार, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
प्रस्तावित लाभांशलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा २ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लख ५७ हजार रुपैयाँ रहेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ५ दशमलव ७९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५६ करोड ५२ लाख २४ हजार रुपैयाँ कायम हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाले गर्नेछ । स्वतन्त्र सञ्चालक नियुक्ती अनुमोदन पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २२ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ २१ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।