logo
घोराही सिमेन्टसहित यी आठ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
घोराही सिमेन्टसहित यी आठ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर तथा हिमालयन डिष्टिलरीले पुस १३ गते, राधी विद्युत कम्पनीले पुस १५ गते बुक क्लोज गर्दैछन् । 

त्यसैगरी, आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त तथा साना किसान विकास लघुवित्तले पुस १६ गते बुक क्लोज गर्दैछन्  । 

सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

आइसिएफसि फाइनान्सले पुस २९ गते आम्रपाली ब्यांक्वेट, थिरबर सडक, भाटभटेनी, काठमाडौंमा २० औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिलासहित ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सिक्लेस हाइड्रोपावरले पुस २७ गते ११ बजे आभ्या क्लब, धारीपाटन, पोखरा, कास्कीमा १९ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै हिमालयन डिष्टिलरीले पुस २५ गते लिपनिविर्तास्थित आफ्नो रजिष्टर्ड कार्यालयमा बिहान १० बजे २३ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

राधी विद्युत कम्पनीले पुस २९ गते आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा साधारण सभा बोलाएको छ । वेबिनारबाट उपस्थित हुन सकिने सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ दशमलव ७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

आत्मनिर्भरले भने पुस २८ गते होटल माला ईन, घोराही, दाङमा पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

घोराही सिमेन्टले पनि पुस २८ गते दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटल पौवामा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ९ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र सो बोनस शेयर वितरण गर्दा हुन आउने खंडित शेयरलाई पछि समायोजन गर्ने गरी यथावत् राख्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीका आधारभुत शेयरधनीहरू वा सञ्चालक सम्बद्ध रहेको संस्थासँग कम्पनीले गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखपारीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सपोर्ट लघुवित्तले पुस २७ गते दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा नवौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशलमव ६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले अन्य लघुवित्तसँग मर्जर तथा प्राप्तिसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, चुक्ता पूँजी वृद्धि गर्ने, संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्नेल लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

साना किसान लघुवित्तले पुस २९ गते कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा २२ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न तथा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्ज अथवा प्राप्तिसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरूको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.