काठमाडौं । महालक्ष्मी विकास बैंकले ३१औं वर्ष प्रवेशको अवसरमा चौथो संस्करणको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२५’ जेठ २१ देखि २४ सम्म सञ्चालन गर्ने भएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि बैंकको वार्षिकोत्सवको अवसरमा क्रिकेट लिग गर्न लागिएको बताइएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरू साथै मर्चेन्ट बैंकहरूको सहभागिता रहने उक्त क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको बताइएको छ । ४ दिनसम्म चल्ने लिगमा कुल ३९ खेल र २४० जना खेलाडीको सहभागिता रहने बताइएको छ । लिगमा ९ वाणिज्य बैंक, ८ विकास बैंक, १ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बीमा कम्पनी र २ मर्चेन्ट बैंकको सहभागिता रहने बताइएको छ ।
बैंकले आयोजना गरेको पूर्व प्रतियोगिता भेटघाट तथा टाई सिट सार्वजनिक कार्यक्रममा महालक्ष्मी विकास बैंकको उच्च व्यवस्थापन र आयोजक समितिका सदस्यहरूले विजेता ट्रफी र जर्सी सार्वजनिक गरेका थिए । साथै सोही कार्यक्रममा टिम कप्तानहरूलाई जर्सी वितरणसमेत गरिएको थियो ।