काठमाडौँ । गएको चैत १५ गते राजधानी काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्नताको अभियोगमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं‚ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष धवल शमशेर राणा‚ वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
प्रहरीले तीनकुने घटनामा प्रमुख अभियुक्त प्रसाईंलाई बनाएको छ । जिल्ला प्रहरी परिसर भद्रकालीले ५० जनालाई राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरेको छ भने ११ जनाविरुद्ध आपराधिक उपद्रव गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ । राज्यविरुद्धको अपराधमा राप्रपाका उपाध्यक्ष राणा, वरिष्ठ उपाध्यक्ष मिश्र, प्रसाईंसहित ५० जनालाई प्रतिवादी बनाइएको छ । यसैगरी प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको छ ।
गएको चैत १५ गते राजातन्त्रवादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि एभेन्युज टीभीका पत्रकार सुरज रजकसहित दुईजनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरूले व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा समेत तोडफोड गरी आगजनीसमेत गरेका थिए । पत्रकार रजकको तीनकुने घटनाका दिन आगजनी भएको घरमा जलेर मृत्यु भएको थियो ।
प्रहरीले घटनामा संलग्नताको आरोपमा पक्राउ परेका ३४ जनाविरुद्ध मुद्दा नचलाउने भएको छ । तीमध्ये २५ जना पहिले नै रिहा भइसकेका थिए भने ९ जना आइतवार रिहा भएका छन् ।