काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले असार १० गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली बैंक्वेट, भाटभटेनी नक्साल, काठमाडौंमा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
प्रस्तावित लाभांशलाई पनि कम्पनीले अन्तिम स्वीकृति प्रदान गर्नेछ । जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा करसमेत ८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा करसमेत ७३ करोड १४ लाख ५८ हजार रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १४ प्रतिशत बोनस शेयर मात्र वितरण गरेको थियो ।
उल्लेखित प्रस्तावहरूसँगै गत आर्थिक वर्षमा भएका खर्च अनुमोदन प्रस्ताव पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ २७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।