काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा ४ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीको चुक्तापूँजी हाल १० अर्ब ४० करोड रुपैयाँ छ । आगामी माघ मसान्तसम्म यस कम्पनीलाई २० अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ ।
कम्पनीले गत वर्षको तुलनामा यस वर्ष केही बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले जेठ २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि जेठ ११ गते आइतवार एक दिन बुक क्लोज गर्न लागेकाले जेठ ८ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको लाभांश पाउन योग्य हुनेछन् ।