काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले असार २ गते आठौं वार्षिक साधारण सभा गर्ने भ एको छ । जेठ ७ गते साँझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।
प्रस्तावित लाभांशलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीको वैशाख २३ गते साँझ बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ४ अर्ब ६४ करोड रुपैयाँको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यस कम्पनीलाई ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । प्रस्तावित १२ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ कायम हुनेछ । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो ।
गत वर्ष कम्पनीले १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
आठौं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ २५ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।