काठमाडौं । सान्भि इनर्जी लिमिटेडले थप सर्वसाधारणका लागि जेठ ९ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ । थप सर्वसाधारणका लागि कम्पनीले २४ लाख १५ हजार ३०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरी बाँकी रहेको शेयरमध्ये पनि सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ५०० कित्ता र कम्पनीका कर्मचारीहरूका लागि ५८ हजार २०० कित्ता आईपीओ बाँडफाँट गरिसकेको जानकारी कम्पनीले दिएको छ । कम्पनीले आफ्नो जारी पूँजी ८८ करोड रुपैयाँको आधारमा सर्वसाधारणका लागि ४३ दशमलव शून्य ७ प्रतिशतले हुने ३७ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये कम्पनीले पहिलो चरणमा ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरेको गरिसकेको छ । कम्पनीले वैशाख ५ गतेदेखि वैशाख १९ गतेसम्म पहिलो चरणको आईपीओ निष्कासन गरी वैशाख ३१ गते बाँडफाँट गरेको हो ।
दोस्रो चरणमा थप सर्वसाधारणमा जारी हुने बाँकी कित्ता आईपीओ छिटोमा जेठ १३ गतेसम्म निष्कासन हुनेछ । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने जेठ २३ गतेसम्म निष्कासन लम्बिने जानकारी कम्पनीले दिएको छ । तर पछिल्लो समय सर्वसाधारणमा आईपीओ निष्कासन हुँदा पहिलो दिनमा नै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओ पनि छिटो अवधिभित्र मात्र निष्कासनमा रहने निश्चितनै छ । लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्नुपर्नेछ । साथै मेरो शेयर अनलाईनमार्फत पनि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व प्रदान गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इम्युअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीको परिचय ः
यो कम्पनी २०६४ साल साउन १८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रुपमा दर्ता भएको थियो । २०७७ साल असार २५ गते आएर कम्पनी पब्लिक लिमिटेडको रुपमा परिणत भएको हो । रजिष्टर्ड कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको कम्पनीको आयोजना स्थल भने इलाम जिल्ला, माई जोगमाई गाउँपालिकामा रहेको छ । यस कम्पनीले इलाम जिल्लामा ७ दशमलव ६ मेगावाट क्षमताको जोगमाई खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ साल वैशाख १८ गतेदेखि व्यापारिक उत्पादन शुरु गरिसकेको छ भने ५ दशमलव २ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ । यस योजनाको ८९ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको जानकारी कम्पनीले दिएको छ ।
पूँजी संरचना ः
अधिकृत पूँजी ८८ करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी पनि ८८ करोड रुपैयाँनै रहेको छ । हाल संस्थापक शेयरधनीहरुबाट चुक्ता भएको पूँजी ५० करोड १० लाख रुपैयाँ छ । सर्वसाधारण तर्फको सम्पूर्ण कित्ता आईपीओ निष्कासन तथा बाँडफाँटपछि भने कम्पनीको चुक्तापूँजी ८८ करोड रुपैयाँ कायम हुनेछ । कुल पूँजीमा संस्थापकतर्फ ५६ दशमलव ९३ प्रतिशत, आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र कर्मचारी समेत बाँकी सर्वसाधारणमा ३३ दशमलव शून्य ७ प्रतिशत स्वामित्व कायम हुनेछ । कम्पनीले आईपीओबाट संकलित पूँजी आयोजना निर्माण तथा कम्पनीले तय गरेका उदेश्य प्राप्तिको लागि उपयोग गरिने जानकारी दिएको छ ।
वित्तीय स्थिति ः
लगानी गर्नुअघि आम लगानीकर्ताले कम्पनीको वित्तीय अवस्थासँगै व्यवस्थापकिय अवस्थालाई पनि ध्यानमा राखेका हुन्छन् । यो कम्पनीको वित्तीय अवस्थालाई हेर्दा सञ्चित नाफामा रहेको देखिन्छ । गत आर्थिक वर्ष ०८०/८१ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी १० करोड ३८ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म भने कम्पनीले १८ करोड ७७ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ७४ पैसा र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३ पैसा छ । चालू आर्थिक वर्षभित्र भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ३३ पैसा र प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५३ पैसा कायम गर्ने प्रक्षेपण कम्पनीको छ ।
सञ्चालक समिति ः
यस कम्पनीको नियमावलीमा भएको व्यवस्था अनुसार सञ्चालक समितिमा संस्थापकतर्फबाट चार जना , सर्वसाधारणतर्फ २ जना र एक जना स्वतन्त्र सञ्चालक हुने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार कम्पनीमा ७ सञ्चालक समिति रहेको छ । कम्पनीको अध्यक्षमा अनुप आचार्य रहेका छन् । ५८ वर्षका अध्यक्ष आचार्यसँग कम्पनीको ३ लाख २८ हजारभन्दा बढी कित्ता शेयर कायम छ । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका अध्यक्ष आचार्यसँग जलविद्युत क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । भानुभक्त पोखरेल प्रबन्ध सञ्चालक रहेको कम्पनीको सञ्चालकहरुमा भने दिपक बराल, हरि बाबु न्यौपाने, बन्दना पोखरेल, श्रेयन पोखरेल र नारायण प्रसाद पौड्याल रहेका छन् । नारायण प्रसाद पौड्याल भने स्वतन्त्र सञ्चालक रहेका हुन । सर्वसाधारणतर्फको सहभागीता नभएसम्मका लागि हाल थप दुई जना संस्थापकतर्फबाटनै सञ्चालक रहेका हुन ।
कति पाउँला दोस्रो बजारमा पहिलो कारोबार मूल्य ?
यो कम्पनीले प्राथमिक बजारमा लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ जारी गरी त्यसको कारोबारका लागि धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउनेछ । कम्पनीको आईपीओ दोस्रो बजारमा कारोबारयोग्य भएपछिको मूल्य भने धितोपत्र दोस्रो बजार सञ्चालकले निर्धारण गर्नेछ । हाल नेपालमा सञ्चालनमा रहेको एकमात्र धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबार मूल्य तोक्ने गरेको छ । हालको व्यवस्था बमोजिम कुनै पनि कम्पनीको आईपीओ सूचीकृतपछि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो कारोबारका लागि तोक्ने गरिन्छ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ७४ पैसा रहेको छ । यस आधारमा दोस्रो बजारमा सूचीकृतपछि कम्पनीको पहिलो कारोबार मूल्य न्यूनतम प्रतिकित्ता १२० रुपैयाँ ७४ पैसादेखि अधिकतम ३६२ रुपैयाँ २२ पैसासम्मको मूल्यरेञ्ज नेप्सेले तोक्नेछ । पहिलो कारोबारपछिको मूल्य भने बजारमा लगानीकर्ताको माग र आपूर्तिका आधारमा निर्धारण हुनेछ ।