काठमाडौं । नेपाल हस्तकला महासंघलाई ‘ललितकला प्रवर्द्धन सम्मान’ प्रदान गरिएको छ । नेपाली हस्तकला उद्योग व्यवस्थापन, कलाकार र कारीगरहरूको प्रवर्द्धन तथा विकासमा पुर्याएको योगदानको कदर गर्दै हस्तकला महासंघलाई उक्त सम्मान प्रदान गरिएको हो ।
५ दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको हस्तकला महासंघले करीब ११ लाख व्यक्तिलाई प्रत्यक्ष र परोक्षरूपमा रोजगारी दिएको छ । हस्तकला महासंघले हस्तकलाका वस्तुहरू चीन, भारत लगायतका देशहरूमा निर्यात भई देशको अर्थतन्त्रमा वार्षिक झण्डै ४४ अर्बको योगदान पुर्याउँदै आएको छ । साथै शीप हस्तान्तरण, दस्तावेजीकरण, विकास तथा अभिवृद्धिका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।
यिनै योगदानको मूल्याङ्कनस्वरूप राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ को उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरण पाण्डेले महासंघका अध्यक्ष रविन्द्र शाक्यलाई सम्मान प्रदान गरेका हुन्।
महासंघले यो सम्मान सम्पूर्ण हस्तकला क्षेत्रको गौरवको रूपमा लिएको जनाएको छ ।