काठमाडौं । प्राइम सेरामिक्स प्रा. लि.ले नेपाल विद्युत प्राधिकरणको मधेश प्रादेशिक कार्यालय, जनकपुरबाट ‘अत्यन्त महत्त्वपूर्ण उपभोक्ता’को सम्मान पाएको छ ।
वि.सं. २०७९ मा उच्च विद्युत खपत गरेर नियमित महसुल भुक्तानी गरी औद्योगिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको आधारमा कम्पनीलाई प्रदेशका उत्कृष्ट १० उपभोक्तामध्ये एकका रूपमा चयन गरिएको हो । उक्त उपलब्धिको कदर स्वरूप प्राधिकरणले कम्पनीलाई सम्मान–पत्र प्रदान गरेको हो ।
सम्मान–पत्र ग्रहण गर्दै कम्पनीका उपाध्यक्ष शेखर मोडुले भने, 'यस सम्मानले हामीलाई अझ प्रेरित बनाएको छ । हामी सधैं गुणस्तरीय उत्पादन, समयमै सेवा र राष्ट्रनिर्माणप्रतिको प्रतिवद्धतामा अडिग छौं ।'
देशमै पहिलो पटक भित्ते तथा फ्लोर टायल्सको निर्माण शुरु गरेको प्राइम सेरामिक्सले ‘स्वदेशी उत्पादन, आत्मनिर्भर नेपाल’ अभियानलाई सशक्त रूपमा अगाडि बढाउँदै आएको छ । कम्पनीले आगामी दिनहरूमा दिगो विकास, स्वदेशी उत्पादन प्रवर्द्धन र उपभोक्ता सन्तुष्टिलाई अझ प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।