काठमाडौं । हस्तकला उद्यमी श्यामवदन श्रेष्ठ ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड इन वुमन आन्त्रप्रेनरशीप’बाट सम्मानित भएकी छन् ।
न्यू बिजनेश एज प्रालिको आयोजनामा भएको ‘न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२४’ मा उनलाई उक्त अवार्डले सम्मान गरिएको हो ।
को हुन् श्यामवदन श्रेष्ठ ?
हस्तकला उद्यममा स्थापित नाम हो– श्यामवदन श्रेष्ठ । उनी यो उद्यममा स्थापित भएकी हुन् आफ्नो मेहनतले ।
गर्भमै छँदा बुबा गुमाएकी उनले हस्तकलाको काम भने ८ वर्षको उमेरदेखि गरेकी हुन् । शुरुआती समयमा राति २ बजेदेखि हस्तकलाका काम गरेको उनी बताउँछिन् ।
४० वर्षअघि हस्तकला उद्यममा प्रवेश गरेकी उनी नेपाल नटक्राफ्ट सेन्टर प्रालिकी सञ्चालकसमेत हुन् ।
उनी व्यवसायमा लाग्न चाहनेहरूका लागि प्रेरणाकी स्रोत पनि हुन् । कमै लगानी गरेर पनि व्यवसायमा स्थापित हुन सकिन्छ भन्ने उनको जीवनबाट प्रेरणा लिन सकिन्छ ।
४० वर्षअघि २ सय रुपैयाँको लगानीमा नेपाल नटक्राफ्ट सेन्टर खोलेकी उनले अहिले यही कम्पनीबाट वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्छिन् । त्यति मात्रै होइन, उनले अहिले ३ सय जना महिलालाई रोजगारीसमेत दिएकी छन् ।
शुरुआती दिनमा काठमाडौं उपत्यकामा पाइने कच्चा पदार्थबाट हस्तकलाका सामान उत्पादन गरेकी उनले पछि नेपालमा पाइने रैथाने कच्चा पदार्थको अनुसन्धानका लागि करीब ६५ जिल्लाको भ्रमण गरिन् । त्यहाँ पाइने अल्लो, अलैंची, मकैको खोस्टा, मुच, काँस, बाबियो, पराल, जलकुम्भी झार, बाँस, बेत, निगालो आदि फाइबरयुक्त ४५ किसिमका रेशादार बिरुवाको खोज अनुसन्धान गरिन् । अहिले उनले गर्ने उत्पादन फाइबर र रेशादार वस्तुका धेरै छन् ।
रेशादार बिरुवाबाट बन्ने हस्तकलाका सामग्री उत्पादन गरेबापत उनले सन् २०१८ मा वर्ल्ड क्राफ्ट काउन्सिल अवार्ड अफ एक्सिलेन्स फर ह्यान्डिक्राफ्ट अवार्ड पाइन् । उनले सन् २०१८ मा सार्क वुमन आन्त्रप्रेनरशीप प्रतिस्पर्धामा समेत अवार्ड हात पारिन् ।
पाटन औद्योगिक क्षेत्रभित्र रहेको उनको उद्योगले उत्पादन गरेका सामान यतिबेला स्वदेशी बजारसहित यूरोप, अमेरिका, जापानलगायत देशमा निर्यात हुने गरेका छन् ।