काठमाडौं । यस वर्षको ‘बेष्ट म्यानेज्ड आईटी कम्पनी‚ २०२५’ अवार्ड विद्युतीय भुक्तानी सेवा प्रदायक ई-सेवालाई प्रदान गरिएको छ । आज काठमाडौंमा न्यू बिजनेस एजले आयोजना गरेको नवौं न्युबिज कन्क्लेभ तथा बिजनेस एक्सिलेन्स अवार्ड, २०२५ मा ई-सेवाले उक्त अवार्ड पाएको हो ।
नेपालकै पहिलो अनलाइन भुक्तानी सेवा प्रदायक हो– ई-सेवा । सन् २००९ देखि नेपालमा सेवा शुरु गरेको ई-सेवाले आफूलाई दक्षिण एशियाकै पहिलो अनलाइन भुक्तानी प्रणाली भएको दावी गर्छ । यो नेपालको सबैभन्दा धेरे कर तिर्ने कम्पनीमध्ये एक पनि हो ।
ई-सेवा एफवान सफ्टअन्तर्गतको सहायक कम्पनीको रूपमा सञ्चालनमा छ । २०८१ असार मसान्तसम्मको वित्तीय प्रतिवेदनअनुसार यसको चुक्तापुँजी ३८ करोड रुपैयाँ पुगेको छ ।
ई-सेवाका हाल देशभर ५० लाखभन्दा बढी प्रयोगकर्ता छन् भने ३ हजार ५ सयभन्दा बढी व्यापारिक साझेदार छन् र उनीहरूले यही प्लेटफर्ममा जोडिएका छन् । कम्पनीको वेबसाइट अनुसार ई-सेवामा हाल ४५० भन्दा बढी व्यक्तिले रोजगारी पाएका छन् ।
दैनिक लाखौं भुक्तानी कारोबारहरू सहज बनाउँदै आएको ई-सेवाले डिजिटल कारोबारको अग्रणी पहिचान बनाइसकेको छ । बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा कारोबारलाई सहज बनाउँदै सरकारी सेवा शुल्कदेखि मोबाइल रिचार्ज, बिल तिर्ने सुविधा, अनलाइन किनमेल जस्ता सेवाले यसको पहुँच झनै व्यापक बनाएको छ ।
बजारमा लामो इतिहास बनाईसकेको ई-सेवाको यात्रा अहिले नेपाली डिजिटल अर्थतन्त्रमा एक महत्त्वपूर्ण माइलस्टोनका रूपमा स्थापित भइसकेको छ । सरकारी राजस्वमा समेत उल्लेखनीय योगदान दिँदै आएको ई-सेवाले भविष्यमा पनि सेवा विस्तार र नवप्रवर्तनमार्फत डिजिटल वित्तीय पहुँचलाई अझ सशक्त बनाउने कम्पनीको विश्वास छ ।